वर्षाको कारण उदयपुरका दुई लोकमार्गको उदयपुरखण्डमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले एक सूचना जारी गर्दै असोज ८ गतेदेखि १२ गतेसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत पद्मराज उपाध्यायका अनुसार सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडकखण्ड र सगरमाथा लोकमार्गको साउने–रसुवाखण्डमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले ८ असोज ०८३ बिहीबार सूचना जारी गर्दै रातको समयमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म ती सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको जानकारी दिएको छ ।
सूचनामा जानकारी दिएअनुसार नेपाल मौसम विज्ञान विभागले ०८३ असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ५ गतेदेखि असोज ११ गतेसम्म देशभर ठुलो वर्षा हुने सम्भावना रहेको जनाएको छ । उक्त वर्षाको प्रभाव उदयपुर जिल्लामा समेत पर्ने देखिएकाले दुवै सडकखण्डमा रातिको समयमा सवारी आवागमन जोखिमयुक्त हुने भन्दै प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ ।
प्रशासनले सम्भावित दुर्घटना तथा क्षति न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ । अत्यावश्यक सेवाका सवारीसाधनले भने नजिकको सुरक्षा निकायसँग समन्वय गरी सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले सबै सरोकारवालालाई सूचनाको पालना गर्न आग्रह गर्दै सम्भावित दुर्घटना एवं क्षति रोकथामका लागि पूर्वसतर्कता अपनाउन तथा अत्यावश्यक सेवाका सवारीसाधनले नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ ।
यता चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुरगढी गाउँपालिकालगायतले वर्षाको कारण शैक्षिक संस्थासमेत बन्द गरेका छन् ।