आज बिहीबार राति पनि देशभर वर्षा हुने भएको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा मधेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्विनीको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत चेतावनी दिइएको छ। राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थान एवं कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका अधिकांश स्थान तथा सुदूरपश्चिमको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर मनसुनी वायु, पश्चिमी वायु र बंगालको खाडीमा विकसित बलियो न्यून चापीय क्षेत्रको प्रभाव छ। न्यून चापीय क्षेत्र हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासमा केन्द्रित छ। उक्त प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने र त्यसपछि उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको बल्ड्याङगढीमा १६१ मिलिमिटर मापन भएको छ। दिउँसो देशका अधिकांश क्षेत्रमा पानी परेको थियो।