नेपाली कांग्रेसले सुदूरपश्चिममा पार्टीको जिल्ला र पालिका नेतृत्वमा रहेर महाधिवेशन प्रक्रियामा सहभागी नहुने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको जिम्मेवारी खोस्न थालेको छ। हालसम्म तीन जिल्ला सभापति, एक उपमहानगर र दुई नगरका सभापतिको जिम्मेवारी खोसिएको छ।
कांग्रेस केन्द्रले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डोटीमा पार्टी महाधिवेशनको काम गर्ने गरी कार्यवाहक जिल्ला सभापति तोकेको छ। यी तीनै जिल्लाका सभापति देउवा पक्षमा छन्।
कैलालीमा उपसभापति भीमबहादुर बडुवाललाई मंगलबार कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ। नेताहरूका अनुसार जिल्ला सभापति नारायणदत्त भट्ट र उपसभापति खेम चौधरी पार्टीको महाधिवेशन प्रक्रियामा सहभागी नभएपछि कांग्रेस केन्द्रले बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। भट्टले यसअघि उपसभापति चौधरीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले पठाएको पत्रमा पार्टीको १५औँ महाधिवेशनअन्तर्गत जिल्लामातहतका अधिवेशन सम्पन्न गर्न उपसभापति बडुवाललाई जिल्ला कार्यवाहक सभापतिको रूपमा काम गर्ने गरी विशेष जिम्मेवारी तोकिएको जनाइएको छ। बडुवाल संस्थापननिकट हुन्।
कांग्रेसले यसअघि नै कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर उपसभापति हरिश्चन्द्र रानालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। त्यस्तै, डोटीमा सचिव नारायण बराललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेस प्रदेश समितिका एक पदाधिकारीले बताए।
डोटीमा देउवा पक्षमा रहेका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह तथा उपसभापतिद्वय नारायण जोशी र बाजीसिंह खड्का महाधिवेशन प्रक्रियाअन्तर्गत वडा तथा पालिका अधिवेशनमा सहभागी नभएको बताइएको छ। कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकामा पनि केन्द्रले नगर सभापतिहरूको जिम्मेवारी खोसेर कार्यवाहक तोकेको कांग्रेस कैलालीका एक पदाधिकारीले बताए।
निवर्तमान सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिमका अधिकांश वडामा अधिवेशन भएर पालिका अधिवेशनहरू भइरहेका छन्। देउवाको गृहजिल्ला डडेल्धुरामा भने महाधिवेशनको प्रक्रिया जारी छ।
यसअघि देउवा पक्षमा रहेका जिल्ला सभापति भीमबहादुर साउद संस्थापन पक्षमा उभिएका छन्। उनी महाधिवेशन प्रक्रियामा सहभागी छन्। गृहप्रदेशमै धेरैजसो नेताले साथ छाडेपछि देउवा एक्लिँदै गएको देखिए पनि केही नेताहरू भने अहिले पनि देउवा पक्षमै रहेको कांग्रेसका नेताहरू बताउँछन्।
सुदूरपश्चिमका नौ जिल्लामध्ये देउवा पक्षमा रहेका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम र बझाङ गरी ६ जिल्लाका सभापतिले गत वर्ष पार्टीको विशेष महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता–कार्यकर्तालाई अपिल गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए। उनीहरूमध्ये अहिले तीन जिल्लाका सभापति मात्रै देउवा पक्षमा देखिएका छन्।
प्रदेश सभापति वीरबहादुर बलायर, महामन्त्री मेघराम खड्कालगायत पदाधिकारी देउवा पक्षमै छन्। अर्का महामन्त्री नरनारायण शाह भने संस्थापन पक्षतिर छन्।