भारीदेखि अतिभारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दाङमा रातिको समयमा पाँचवटा सडकखण्ड बन्द गरिने भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ देखि ११ गतेसम्म दाङसहित देशका धेरै भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सडक बन्द गर्ने निर्णय गरेको हो ।
सूचनाअनुसार हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म ती सडकखण्डमा यातायात सञ्चालन बन्द गरिनेछ ।बन्द हुने सडकखण्डमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, मालुवाङ–चकचके सडकखण्डको मालुवाङदेखि गानाहा खोलासम्म, सहिद मार्गअन्तर्गत घोराही–होलेरी, घोराही–मुर्कुटी तथा तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्म रहेका छन् ।
वर्षाका कारण सडकमा बाढी, पहिरो तथा अन्य विपतकाे जोखिम बढ्न सक्ने भएकाले सम्भावित दुर्घटना र मानवीय क्षति न्यूनीकरणका लागि रातिको समयमा सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।