सम्भावित बाढी-पहिरोको जोखिमपछि धनकुटाका दुई नगरपालिकामा दुई दिन विद्यालय बन्द

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई मध्यनजर गर्दै धनकुटाका धनकुटा र पाख्रीबास नगरपालिकाले दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

मौसममा आएको अचानक परिवर्तन तथा प्राकृतिक विपतकाे उच्च जोखिमलाई ध्यानमा राख्दै दुवै नगरपालिकाले असोज ८ र ९ गते सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले सामाजिक सञ्जालमार्फत अतभारी वर्षाको सम्भावनाबारे मौसमविद्हरूले पूर्वानुमान गरेकाले विद्यालय बन्द गरिएको जानकारी दिएका छन् । बुधबारदेखि पाख्रीबास क्षेत्रमा निरन्तर वर्षा भइरहेको जनाउँदै उनले असोज ८ र ९ गते नगरभित्र सञ्चालित सबै विद्यालय बन्द रहने बताएका छन् ।

नगर प्रमुख गुरुङले विपतकाे जोखिमपूर्ण अवस्थामा विद्यार्थी, अभिभावक, शिक्षक तथा नगरवासीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् ।

यस्तै, धनकुटा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर भुजेलले बिहीबार बिहान सूचना जारी गर्दै असोज ८ र ९ गते नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरिएको जनाएका छन् ।

नगरपालिकाहरूले सम्भावित प्राकृतिक विपतबाट विद्यार्थी तथा विद्यालय समुदायलाई सुरक्षित राख्न पूर्वसावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

सुझावित समाचार