नेपाल–भारत आर्थिक सहकार्य र समन्वयबारे निक्की र एफएनसिसिआईबिच छलफल

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का अध्यक्ष सुनील केसीको नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वको टोलीसँग नेपाल–भारत आर्थिक सहकार्य तथा समन्वयका विषयमा विस्तृत छलफल गरेको छ।

छलफलमा द्विपक्षीय व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई), नेपाल–भारत संयुक्त व्यवसाय मञ्च (नेपाल–इन्डिया जोइन्ट बिजनेस फोरम), दुई देशका उद्योग वाणिज्य संघबिचको सहकार्य, आर्थिक कूटनीति, औद्योगिक–शैक्षिक तथा सार्वजनिक क्षेत्रको सहकार्य एवं भारतमा संयुक्त लगानी प्रवर्द्धनका पहललगायत विषयमा छलफल भएको थियो।

निक्कीका अध्यक्ष केसीले एफएनसिसिआईको अध्यक्षको जिम्मेवारी सम्हालेकोमा अञ्जन श्रेष्ठलाई बधाई दिँदै उनको कार्यकालमा दुई संस्थाबिच उत्पादक तथा परिणाममुखी संयुक्त पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले एफएनसिसिआईसँग निक्कीको लामो समयदेखिको संस्थागत सम्बन्ध स्मरण गर्दै नियमित र संरचित संवादमार्फत दुई संस्थाबिचको सहकार्यलाई थप सक्रिय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

प्रतिनिधिमण्डललाई स्वागत गर्दै एफएनसिसिआईका अध्यक्ष श्रेष्ठले निक्कीको निरन्तर संलग्नताको प्रशंसा गरे। उनले नेपालको व्यापार तथा समग्र आर्थिक सम्बन्धमा भारतको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेपाल–भारत आर्थिक सम्बन्धका विषयमा थप समन्वय आवश्यक रहेको बताए। द्विराष्ट्रिय उद्योग वाणिज्य संघका रूपमा निक्कीको भूमिका एफएनसिसिआईको व्यावसायिक तथा आर्थिक हित प्रवर्द्धन गर्ने उद्देश्यसँग अत्यन्त निकट रहेको उनको भनाइ थियो।

दुवै संघले नेपाल–भारत व्यापारको अवस्था तथा नेपालको आन्तरिक उत्पादन र औद्योगिकीकरणलाई सुदृढ गर्ने अवसरबारे समेत छलफल गरेका थिए। अध्यक्ष श्रेष्ठले विशेषगरी उत्तर प्रदेश र बिहारलगायत नेपालसँग सीमा जोडिएका भारतीय राज्यका व्यवसाय तथा कम्पनीसँग नेपाली उद्योग–व्यवसायको साझेदारी विस्तार गर्न सकिने सम्भावनातर्फ ध्यानाकर्षण गराए। उत्पादनमूलक तथा खाद्यसम्बन्धी क्षेत्रमा यस्ता सहकार्यले नेपाली उद्योगको विकासमा योगदान पुर्याउन सक्ने उनको भनाइ थियो।

छलफलमा द्विपक्षीय ऊर्जा सहकार्यलाई प्रमुख प्राथमिकतामा राखिएको थियो। सहभागीहरूले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य, त्यसका लागि निजी क्षेत्रको थप सहभागिता तथा लगानी र आवश्यक प्रसारण पूर्वाधारको समयमै विकास गर्नुपर्ने विषयमा छलफल गरे। दुवै संघले ऊर्जा क्षेत्रको सहकार्यका विषयमा नियमित संवादलाई निरन्तरता दिने सहमति जनाएका छन्।

बैठकमा वाराणसीलगायत भारतीय गन्तव्यसँग पर्यटनसम्बन्धी सम्बन्ध तथा सहकार्य विस्तार गर्ने सम्भावनाका साथै सूचना प्रविधि (आइसिटी) र कृत्रिम बुद्धिमत्ता (एआई)जस्ता उदीयमान क्षेत्रमा सहकार्यका अवसरबारे पनि छलफल भएको थियो।

निक्कीले नेपाल र भारतका उच्चस्तरीय द्विपक्षीय भ्रमण तथा भेटघाटका क्रममा दुवै देशका निजी क्षेत्रका नेतृत्वबिच थप प्रत्यक्ष संवादका लागि वार्षिक नेपाल–भारत सिइओ राउन्डटेबल आयोजना गर्ने प्रस्ताव गरेको थियो। दुवै संस्थाले उक्त प्रस्तावलाई अघि बढाउन सहकार्य गर्ने सहमति जनाएका छन्।

यस्तै, भारतको नयाँदिल्लीमा नेपालको लगानी सम्मेलन नियमित रूपमा आयोजना गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो। लगानीका अवसर प्रवर्द्धन तथा व्यवसायी–व्यवसायी सम्पर्क विस्तार गर्ने उद्देश्यले भाइब्रेन्ट गुजरातमा एफएनसिसिआई–निक्कीको संयुक्त पहलमा नेपालको छुट्टै प्याभिलियन बनाएर सहभागिता जनाउने निक्कीको प्रस्तावबारे समेत छलफल भएको थियो।

निक्कीले नेपाल–भारत आर्थिक विषयमा दीर्घकालीन संस्थागत समन्वय थप सुदृढ गर्न एफएनसिसिआईमा निक्कीका अध्यक्षका लागि पदेन स्थायी उपाध्यक्ष पदको व्यवस्था गर्ने प्रस्ताव पुनः प्रस्तुत गरेको थियो। उक्त प्रस्तावमा अध्यक्ष श्रेष्ठले एफएनसिसिआईको वर्तमान विधान एवं संस्थागत प्रक्रियाअनुसार विचार गरिने जानकारी दिए।

भेटवार्तामा नेपाल–भारत संयुक्त व्यवसाय मञ्च (नेपाल–इन्डिया जोइन्ट बिजनेस फोरम–जेबिएफ)मा निक्कीको सहभागिताबारे पनि छलफल भएको थियो। निक्कीले उक्त मञ्चमा थप महत्त्वपूर्ण भूमिका तथा अध्यक्ष वा सहअध्यक्षको जिम्मेवारीसमेत विचार गर्न अध्यक्ष श्रेष्ठलाई अनुरोध गरेको थियो। एफएनसिसिआईले उक्त बिजनेस फोरममा निक्कीको सहभागिता थप विस्तार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी उच्चस्तरीय द्विपक्षीय भेटघाट तथा भ्रमणअघि सम्बन्धित माध्यमबाट यस विषयलाई अघि बढाउने सहमति जनाएको छ।

यसैगरी, एफएनसिसिआईमा गठनको तयारीमा रहेको एमएनसी तथा एफडिआई फोरममा निक्कीको सहभागिता तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघसँग सम्बन्धित विषयमा पनि छलफल भएको थियो। सहभागीहरूले संस्थागत समन्वयलाई थप प्रभावकारी बनाउँदै बाँकी रहेका विषयहरूको समाधान गर्नुपर्नेमा जोड दिए।

दुवै संघले व्यापार, लगानी, ऊर्जा, व्यावसायिक प्रतिनिधिमण्डल आदान–प्रदान, लगानी प्रवर्द्धन, पर्यटन, सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, उद्योग–शैक्षिक क्षेत्र सहकार्य, खाद्य सुरक्षा, औद्योगिकीकरण तथा ऊर्जा सुरक्षालगायत क्षेत्रमा संयुक्त पहल अघि बढाउने र निरन्तर संवाद कायम राख्ने सहमति जनाएका छन्।

भेटवार्ताको अन्त्यमा एफएनसिसिआई र निक्कीले नेपाल–भारतबिच आर्थिक अवसर विस्तार, व्यापार तथा लगानी प्रवर्द्धन र निजी क्षेत्रबिचको सम्बन्धलाई थप सुदृढ बनाउन निकट संस्थागत सहकार्य तथा निरन्तर निजी क्षेत्रबिचको संवादलाई अघि बढाउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।

छलफलमा एफएनसिसिआईका तर्फबाट अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य र महानिर्देशक गोपालप्रसाद तिवारी सहभागी थिए। त्यस्तै, नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का तर्फबाट अध्यक्ष सुनील केसी, उपाध्यक्ष कुणाल केयाल, निर्देशक मार्सल राठौर, प्रोग्राम एसोसिएट श्रेयशी राणा तथा एआइडिआईएका रिसर्च डाइरेक्टर कुबेर चालिसे सहभागी थिए।

सुझावित समाचार