राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत उपस्थिति तालिका सार्वजनिक गरेको छ।
रास्वपा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले सूचना जारी गर्दै संसद्को छलफललाई गुणात्मक, प्रभावकारी र फलदायी बनाउन शून्य समय तथा समूहका आधारमा न्यूनतम उपस्थिति तालिका निर्धारण गरिएको जानकारी दिएका हुन्।
तालिकाअनुसार असोज ८ गते समूह ३, ४ र १ का सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ। त्यस्तै, असोज १२ गते समूह १ र २, असोज १३ गते समूह २ र ३, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसदको उपस्थिति अनिवार्य गरिएको छ।
सम्बन्धित समूहका सांसदलाई तोकिएको दिन बैठक सुरु भएदेखि अन्त्यसम्म अनिवार्य रूपमा उपस्थित भई छलफलमा सक्रिय सहभागी हुन निर्देशन दिइएको छ। रास्वपाले अन्य समूहका सांसदलाई भने संसद् बैठकमा आउन अनिवार्य नरहेको अर्थ नलाग्ने स्पष्ट पारेको छ। विशेष अवस्थाबाहेक संसद् बैठक सबै सांसदका लागि सधैँ बाध्यकारी हुनुपर्ने सूचनामा उल्लेख छ।
बैठक अवधिमा छलफल प्रभावित नहुने गरी खाजा वा अन्य आवश्यक कामका लागि पालैपालो समय मिलाउन पनि सांसदहरूलाई आग्रह गरिएको छ। त्यस्तै, कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ प्रस्तुत हुने समयमा तोकिएका सबै सदस्य अनिवार्य रूपमा उपस्थित हुनुपर्ने रास्वपाको निर्देशन छ।