बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोक खण्डमा असोज ८ गतेदेखि १२ गतेसम्म रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ।
असोज ७ गते धुलिखेलमा बसेको मनसुन प्रतिकार्य कमान्ड पोस्ट काभ्रेपलाञ्चोकको बैठकले सो निर्णय गरेको हो। मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार सम्भावित बाढी पहिरोको जोखिमलाई ध्यानमा राखी बिपी राजमार्गको काभ्रे खण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको हो।
अन्य समयमा पनि राजमार्ग प्रयोग गर्दा सुरक्षाकर्मी तथा सम्बन्धित निकायलाई बुझेर मात्र सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ।