नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले आफ्नो पुर्ख्यौली गाउँ धनकुटाको चुङबाङस्थित भारती माध्यमिक विद्यालयलाई पाँच करोडबराबरको आर्थिक सहयोग गरेका छन्। शर्माले तीन करोड रुपैयाँ विद्यालयलाई आर्थिक सहयोग गरेका हुन् भने दुई करोडबराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन्।
विद्यालयद्वारा आयोजित कार्यक्रममा डा. शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर खत्री र प्रधानाध्यापक हरिप्रसाद पौडेललाई तीन करोडको चेक हस्तान्तरण गरे। सो अवसरमा शर्माले विद्यालयका विपन्न तथा जेहेनदार विद्यार्थीहरूलाई चिकित्सा शिक्षा अध्ययनको लागि दुई करोडबराबरको छात्रवृत्ति दिने घोषणा गरे। उनी काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक हुन्।
भारती माविले छनोट गरेका विद्यार्थीले काठमाडौं मेडिकल कलेजमा चिकित्सा शिक्षा पढ्न पाउने छन्। छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले डिएम, एमसिएच, एमडी, एमएस, एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएनएस, बिपिटीलगायत पढ्न पाउनेछन्।
डा. शर्माले विद्यालयलाई तीन करोड सहयोग गरेसँगै अब विद्यालयको नाम पनि परिवर्तन हुने भएको छ। तीन करोडभन्दा बढी सहयोग गर्ने दाताको नाममा विद्यालय नाम परिवर्तन गर्न सकिने कानुनी प्रावधानअनुसार भारती माविको नाम अब भारती गणपति गुनलाल न्यौपाने मावि हुने भएको हो।
डा. शर्माका हजुरबुबा गुनलाल र जिजुबुबा गणपतिको नाम जोडेर विद्यालयको नाम फेर्न लागिएको विद्यालयले जनाएको छ। सो अवसरमा शर्माले विद्यालयलाई आर्थिक रूपमा धेरै ठुलो सहयोग गरेर शैक्षिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय सभा सदस्य सुनीलबहादुर थापा, पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, वडाध्यक्ष हरिबहादुर खत्री, विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेलले धन्यवाद दिए। सो अवसरमा शर्माका पिता लोकनाथ र आमा होमादेवी न्यौपानेलाई सम्मानसहित अभिनन्दन गरिएको थियो।