सञ्चार क्षेत्रका माग तत्काल सम्बोधन गर्न सांसद पन्तको सरकारलाई ध्यानाकर्षण

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

रास्वपाका सांसद बुद्धिप्रसाद पन्त (हरि) ले आन्दोलनरत सञ्चारकर्मी तथा नेपाल पत्रकार महासंघका जायज मागहरू अविलम्ब सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।

बुधबार संसद् बैठकमा बोल्दै सांसद पन्तले सञ्चार क्षेत्रलाई संकटमा पार्ने गरी सरकारले गरेका पछिल्ला निर्णयहरूप्रति गम्भीर आपत्ति जनाए। उनले राज्यको चौथो अंगका रूपमा रहेका पत्रकारहरू आफ्ना पेसागत हकहितका लागि सडकमै उत्रिनुपर्ने परिस्थिति निर्माण हुनु दुःखद भएको बताए।

विशेष गरी स्वरोजगारमूलक र साना लगानीका सञ्चारमाध्यमहरूलाई राहतस्वरूप प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे। त्यस्तै, राष्ट्रिय समाचार समिति (रासस)ले अन्य आमसञ्चारमाध्यमहरूलाई उपलब्ध गराउँदै आएको बुलेटिन तथा समाचार सेवाको शुल्कमा अस्वाभाविक वृद्धि गरेको र सरकारी विज्ञापनको न्यायोचित वितरणमा निजी सञ्चारमाध्यम तथा सामुदायिक रेडियोहरूलाई पछाडि पारिएको विषयले समग्र सञ्चार क्षेत्रलाई गम्भीर असर पुर्याएको उनको भनाइ थियो।

राज्यका यस्ता नीति तथा निर्णयहरूले लोकतन्त्रको मेरुदण्डका रूपमा रहेका स्वतन्त्र सञ्चारमाध्यमहरूलाई सबल बनाउनुको सट्टा झनै संकटमा धकेलेको भन्दै सांसद पन्तले नेपाल पत्रकार महासंघलगायतका आन्दोलनरत संस्थाहरूसँग अविलम्ब वार्ता र संवाद गरी समस्याको समाधान खोज्न सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराए।

सुझावित समाचार