प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ७ बजे कतारको दोहा हुँदै न्युयोर्कतर्फ लागेका हुन्।
प्रधानमन्त्रीलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने सचिवालयले जनाएको छ। उनी दोहाबाट बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्।
बंगालको खाडीको डिप्रेसन भोलि ल्यान्डफल हुँदै, उपल्लो वायुमण्डलको ट्रफले बढाउन सक्छ वर्षा
उत्तर अन्डमन सागरमा विकसित भइ बंगालको खाडीमा रहेकाे न्यूनचापीय क्षेत्र (डिप्रेसन) आगामी २४ घन्टामा थप शक्तिशाली बन्ने सम्भावना छ ।
भारतीय मौसम विभाग (आइएमडी) का अनुसार न्यून चापीय क्षेत्र थप शक्तिशाली बनेर बुधबार रातिदेखि बिहीबार बिहानसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिसाको तटीय क्षेत्रमा विशाखापट्टनम र गोपालपुरबीचबाट जमिनमा प्रवेश (ल्यान्डफल) गर्ने सम्भावना छ ।
यो प्रणाली सीधै नेपाल प्रवेश गर्ने होइन । तर, यसको पश्चिम–उत्तरपश्चिमतर्फको गति र त्यससँग सम्बन्धित चिस्यानको प्रवाहले नेपालको मौसमलाई प्रभावित गर्न सक्छ ।
रवि लामिछानेको प्रधानमन्त्री शाहलाई शुभकामना, ‘भ्रमण अर्थपूर्ण र सफल होस्’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई शुभकामना दिएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्न मंगलबार साँझ संयुक्त राज्य अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री शाहलाई लामिछानेले शुभकामना दिएका हुन्।
लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपाली सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहलाई आग्रह गर्दै उनको अमेरिका भ्रमण अर्थपूर्ण र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
जापानबाट अध्यागमनमा सेटिङ, छानबिनमा तानिए अध्यागमन अधिकृत
जापानमा बस्ने एक व्यक्तिमार्फत भिजिट भिसामा सेटिङ भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत चेतबहादुर सिजुवाल सेजुवालले सोमबार एक सेटिङमा कुवेत पठाएका हुन्।
श्रम स्वीकृतिविना नै प्रस्थान अनुमति दिएको खुलेपछि ती अधिकृतलाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको विभागका निर्देशक टीकाराम ढकालले बताए।
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
सरकारले जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेहरूलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ अनुसार सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकले यो सुविधा पाउनेछन्।
नयाँ मापदण्डअनुसार आधारभूत तह (कक्षा १ देखि ८) र माध्यमिक तह (कक्षा ९ देखि १२) का लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षाका साथै पोशाक, पाठ्यपुस्तक तथा सिकाइ सामग्रीका लागि नगद अनुदान स्थानीय तहमार्फत उपलब्ध गराइनेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीसहित रक्षा र परराष्ट्रको जिम्मेवारी
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्। उनी साँझ ७ बजे अमेरिकातर्फ उडेका हुन्।
अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले बिदाइ गरेका थिए। बिदाइका क्रममा वाग्लेले प्रधानमन्त्री शाहलाई अध्ययनका लागि पल केनेडीद्वारा लिखित चर्चित पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ हस्तान्तरण गरेका थिए।
ठुलो हिमपात हुने भएपछि उच्च पहाडी र हिमाली जिल्लामा रेडअलर्ट
मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी र हिमाली जिल्लामा रेडअलर्ट जारी गरेको छ। महाशाखाले मंगलबार साँझ विशेष बुलेटिन जारी गर्दै पूर्वी ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मका १६ जिल्लामा रेडअलर्ट जारी गरेको हो।
महाशाखाले आगामी शुक्रबारदेखि आइतबारसम्म देशभर ठुलोदेखि अत्यधिक वर्षा हुन सक्ने आकलन सोमबार नै गरेको थियो। तर, अहिलेको अवस्था हेर्दा उच्च पहाडी र हिमाली क्षेत्रमा ठुलो हिमपात हुन सक्ने र त्यसले जनजीवन प्रभावित पार्न सक्ने भएकाले सचेतना अपनाउन रेडअलर्ट जारी गरिएको महाशाखाकी मौसमविद् विनु महर्जनले नयाँ पत्रिकालाई बताइन्।
रेशम चौधरीको कैद माफी सर्वाेच्च अदालतबाट सदर
थरुहट नेता तथा पूर्वसांसाद रेशम चौधरीको कैद माफी सर्वाेच्च अदालतबाट सदर भएको छ । ११ वर्षअघिको टीकापुर घटनामा जन्मकैद सजाय पाएर पनि राष्ट्रपति रामचन्द पौडेलबाट कैद छुट पाएर छुटेका चौधरीविरुद्ध परेका दुई रिट सर्वाेच्चले मंगलबार खारेज गरेसँगै उनको कैद माफी सदर भएको हो।
२०७२ साल भदौको थरुहट आन्दोलनमा ज्यान गुमाएका प्रहरीकी श्रीमती शारदा कडायतलगायते कैद माफीविरुद्ध चौधरी, राष्ट्रपति कार्यालयलगायतलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन्। सर्वाेच्च अदालतले मंगलबार त्यसको सुनुवाइ गर्दै रिट खारेज गरेको हो। चौधरी २०८० को जेठ १५ गते गणतन्त्र दिवसमा माफी पाएर छुटेका हुन्। उनलाई तीनै तहको अदालतले दोषी ठहर गरेको थियो।
दर्ता नभएका औषधि बिक्री नगर्न आयुर्वेद चिकित्सा परिषद्को आग्रह
आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण नगर्न तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
परिषद्ले जारी गरेको सूचनामा क्यान्सर, पाइल्सलगायत विभिन्न रोग निको पार्ने दाबी गर्दै औषधिको प्रचारप्रसार गर्ने गतिविधिप्रति ध्यानाकर्षण गराइएको छ। त्यस्तै, जटिल रोग शतप्रतिशत निको पार्ने तथा उपचारबाट लाभ नभए पैसा फिर्ता गर्नेजस्ता दाबीसमेत नगर्न परिषद्ले आग्रह गरेको छ।
बिपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ जना सदस्य नियुक्त गरेको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ को (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिस भएका व्यक्तिहरूलाई सदस्य पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।