रास्वपा सांसद आशिका तामाङले प्रत्येक ट्राफिक प्रहरीले शरीरमा अनिवार्य रूपमा क्यामेरा जडान गर्ने व्यवस्था गर्न माग गरेकी छिन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद तामाङले ट्राफिक नियम तोडिएका घटनामा क्यामेरा जडान सहयोगी हुने बताइन्।
‘प्रत्येक ट्राफिक प्रहरीले अनिवार्य रूपमा आफ्नो शरीरमा क्यामेरा जडान गरिनुपर्छ ताकी लाइसेन्स र बिलबुक नियन्त्रण गरी सडकमै फैसला गर्नुभन्दा पनि फोटो भिडियोको रेकर्डको आधारमा तथ्यपरक काम कारबाही अघि बढाउन सकियोस्,’ उनले भनिन्।
सांसद तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ का प्रावधानहरू व्यावहारिक र न्यायोचित नभएकोसमेत बताइन्। उक्त दफामा ट्राफिक या प्रहरीको कामकारबाही चित्त नबुझे ३५ दिनभित्र यातायात व्यवस्था विभागमा उजुरी दिन सक्नेसम्बन्धी व्यवस्था छ।
‘अब भन्नुस् सभामुख महोदय, दार्चुलाका चालकलाई आफूलाई चिट काटेको चित्त नबुझे उहाँ काठमाडौं विभागमा आई डिजी साहेबलाई भेटेर उजुरी दिने कत्तिको न्यायोचित हो ?’ तामाङले प्रश्न गरिन्, ‘चालकलाई पाँच सय रुपैयाँको जरिवाना चित्त बुझेन भने ५० हजार खर्च गरी काठमाडौं धाउन सक्छ त ?’