लागुऔषधसहित तीनजना पक्राउ

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

धनकुटाको विभिन्न स्थानबाट लागुऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका– ९, मूलघाटस्थित प्रहरी चौकी मूलघाटले इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४५१९ नम्बरको इभी गाडी चेकजाँच गर्ने क्रममा सो गाडीमा सवार दुईजना व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका– १ का २२ वर्षीय भोला राई र भोजपुर नगरपालिका– ६, देउरालीका २४ वर्षीय प्रवीण राई रहेका छन् । उनीहरूको साथबाट खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थलाई स–साना प्लास्टिकमा प्याक गरेको २५ वटा पोका, खुला अवस्थामा रहेको हरियो रङको ५० वटा क्याप्सुल र सुन्तला रङको खुला ४५ वटा ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए । खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थको तौल प्लास्टिकबाहेक एक ग्राम २३० मिलिग्राम रहेको थियो ।

त्यस्तै, धनकुटाको सहिदभूमि गाउँपालिकाबाट पनि लागुऔषधसहित एकजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभूमि गाउँपालिका– ७, चाम्चाका २१ वर्षीय प्रगत राईलाई लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

राईको घरकोठाबाट लागुऔषध ट्रामोल २९० क्याप्सुल र स्पान्सपेन प्रो २९० ट्याब्लेट बरामद गरिएको प्रहरीले बताएको छ । छुट्टाछुट्टै घटनामा लागुऔषधसहित पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
 

सुझावित समाचार