आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण नगर्न तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
परिषद्ले जारी गरेको सूचनामा क्यान्सर, पाइल्सलगायत विभिन्न रोग निको पार्ने दाबी गर्दै औषधिको प्रचारप्रसार गर्ने गतिविधिप्रति ध्यानाकर्षण गराइएको छ। त्यस्तै, जटिल रोग शतप्रतिशत निको पार्ने तथा उपचारबाट लाभ नभए पैसा फिर्ता गर्नेजस्ता दाबीसमेत नगर्न परिषद्ले आग्रह गरेको छ।
यस्ता भ्रामक प्रचारप्रसारले सर्वसाधारणलाई भ्रमित पार्ने भन्दै परिषद्ले कानुनविपरीत सञ्चालन भइरहेका यस्ता गतिविधि १५ दिनभित्र बन्द गर्न वा गराउन अनुरोध गरेको जनाएको छ।
परिषद्को सूचनाको अवज्ञा गर्दै यस्ता अवाञ्छनीय गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।