नेपाल टेलिकमले ०८३ भदौमा देशका विभिन्न पाँच प्रदेशका ११ जिल्लामा १३ वटा नयाँ २ जी तथा ४ जी मोबाइल साइट सञ्चालनमा ल्याएको छ। टेलिकमका अनुसार नयाँ मोबाइल साइट सञ्चालनमा आएसँगै ती क्षेत्रमा मोबाइल सेवा तथा नेटवर्क पहुँच थप विस्तार भएको छ।
बागमती प्रदेशअन्तर्गत ललितपुरमा ललितपुर वडा नं. ३ कार्यालय र च्याउँडाँडामा तथा चितवनको मोहनपुरमा नयाँ साइट सञ्चालनमा ल्याइएको छ। त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरा डाँडा र लमजुङको मध्यमर्स्याङ्दीमा साइट सञ्चालनमा आएका छन्। लुम्बिनी प्रदेशमा कपिलवस्तुको धरमपानी तथा पाल्पाका रामपुर र होक्से माइनमा नयाँ मोबाइल साइट सञ्चालन गरिएको टेलिकमले जनाएको छ।
कर्णाली प्रदेशमा जुम्लाको कनकासुन्दरी र सुर्खेतको गुठला रोडमा तथा सुदूरपश्चिम प्रदेशमा बाजुराको बडीमालिका, डडेलधुराको गाउँखेत र दार्चुलाको रिठचौपातामा नयाँ साइट सञ्चालनमा ल्याइएको छ। नेपाल टेलिकमले देशभर गुणस्तरीय तथा भरपर्दो दूरसञ्चार सेवा विस्तार गर्ने क्रममा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याउँदै आएको जनाएको छ।
भदौ महिनामा सञ्चालनमा ल्याइएका १३ नयाँ साइट पाँच प्रदेशका ११ जिल्लामा रहेका छन्।