भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु. ५२ अर्ब ६७ करोडको क्षति

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछि गएको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा रु. ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार पाँच सयबराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन पेस गरिएको छ।

क्षतिग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान तथा भविष्यमा हुने विपतका लागि पूर्वतयारीलाई व्यवस्थित बनाउन पुनरुत्थान योजना मस्यौदा गर्ने जिम्मेवारीसमेत सम्बन्धित समितिलाई दिइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी प्रतिवेदन प्रस्तुति तथा छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डको द्रुत प्रतिक्रिया टोली (क्युआरटी)का संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द निरौला, सहसचिव तथा शाखा प्रमुख, नेपाल पर्यटन बोर्डका प्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।

प्रतिवेदनअनुसार बाढी तथा पहिरोबाट विशेष गरी रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रमा पर्यटन पूर्वाधार, होटेल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठुलो क्षति पुगेको छ।

क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटेल व्यवसायमा भएको प्रारम्भिक आकलन गरिएको छ। होटेल क्षेत्रमा रु. १९ अर्ब ५६ करोड चार लाख ४८ हजार, वैदेशिक पर्यटन आम्दानीमा रु. १४ अर्ब ६० करोड २४ लाख ६४ हजार तथा मानव बल एवं पर्यटक व्यवस्थापनमा रु. १२ अर्ब २६ करोड ८४ लाख २४ हजार पँच सयबराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, सम्पदा तथा पर्यटन पूर्वाधारतर्फ रु. १ अर्ब ६६ करोड ४० लाख, सवारीसाधनतर्फ रु. १ अर्ब ५१ करोड ४० लाख ८० हजार, रेस्टुरेन्टतर्फ रु. १ अर्ब ३८ करोड ५० लाख २० हजार र लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ रु. एक अर्ब २७ करोड ६४ लाख ४० हजारबराबरको क्षति भएको आकलन गरिएको छ।

आन्तरिक पर्यटन राजस्वमा रु. १९ करोड ८७ लाख, र्याफ्टिङ तथा क्याम्पिङ साइटमा रु. १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा रु. पाँच करोडबराबरको प्रारम्भिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

बाढी तथा पहिरोमा एक हजार ११७ जना नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएको प्रतिवेदनमा उल्लेख छ। तीमध्ये ३१० जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना सम्पर्कमा आएका छन्। हालसम्म ७९४ जना सम्पर्कविहीन रहेकोमा ६०६ जना विदेशी र १८८ जना नेपाली रहेको जनाइएको छ। उद्धार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला छन्।

घटना भएको करिब एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश–मानसरोवर टुर अपरेटरसँग समन्वय गरी खोज तथा उद्धार कार्य सुरु गरिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए।

प्रतिवेदनमा विपतपछिको पर्यटन पुनरुत्थानलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्र सीमित नगरी भविष्यमा देखिन सक्ने जलवायुजन्य जोखिमलाई समेत ध्यानमा राखेर सुरक्षित तथा दिगो पर्यटन प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ।

बोर्डका वरिष्ठ निर्देशक ऐरले रसुवा क्षेत्रलाई दीर्घकालीन रूपमा ‘क्लाइमेट हेरिटेज’का रूपमा विकास गर्ने अवधारणा अघि सारिएको जानकारी दिए। उनले संकटका समयमा प्रभावकारी समन्वय र शीघ्र प्रतिकार्यका लागि बोर्डमा २४सै घण्टा सञ्चालन हुने क्राइसिस सेल तथा क्युआरटीलाई निरन्तरता दिनुपर्ने र त्यसका लागि वार्षिक रु. एक कराेडदेखि पाँच करोडसम्म बजेट व्यवस्था गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य तथा निजी क्षेत्रका प्रतिनिधि सहदेव धमलाले बाढी–पहिरोबाट पर्यटन व्यवसाय, होटेल तथा पदमार्गमा ठुलो क्षति पुगेको उल्लेख गर्दै प्रभावित व्यवसायीका लागि तत्काल राहत, कर छुट तथा सहुलियतपूर्ण पुनरुत्थान प्याकेज आवश्यक रहेको बताए।

उनले वैकल्पिक पदमार्ग तथा यातायात पहुँच शीघ्र सञ्चालनमा ल्याउनुका साथै अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश प्रभावकारी रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिए।

छलफलका क्रममा भोटेकोशी बाढीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान तथा पुनर्स्थापनाका लागि आवश्यक कार्ययोजना अघि बढाउने विषयमा छलफल भएको थियो।

साथै, आगामी विपतका समयमा प्रभावकारी समन्वय, शीघ्र प्रतिकार्य तथा पर्यटन क्षेत्रको पुनरुत्थान प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुनरुत्थान योजनाको मस्यौदा तयार गर्ने थप जिम्मेवारी सम्बन्धित समितिलाई मन्त्री पौडेलले दिएका छन्।

मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको शीघ्र उद्धार तथा क्षतिग्रस्त पर्यटन पूर्वाधारको पुनर्निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको बताए। उनले नेपाल पर्यटन बोर्ड तथा निजी क्षेत्रसँगको सहकार्यमा तयार हुने संयुक्त कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी पर्यटकीय सिजनअघि प्रमुख गन्तव्यमा सुरक्षा, सञ्चार तथा यातायात पहुँच पुनः स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रारम्भिक प्रतिवेदनले पर्यटन क्षेत्रमा प्रमाणमा आधारित तथा एकीकृत सूचना प्रवाह, जलवायु–अनुकूल पर्यटन पूर्वाधार, पूर्वसूचना प्रणाली, पर्यटक प्रहरीको विस्तार तथा पर्यटन बिमा प्रणालीको संस्थागत विकास गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

त्यसैगरी, प्रभावित क्षेत्रको पर्यटन पुनरुत्थानसँगै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई निरन्तरता दिन भारतका दुई सहरमा प्रेस ब्रिफिङ तथा ‘नेपाल नाइट’ कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारिएको छ।

नेपाल पर्यटन बोर्डले सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा निजी क्षेत्रसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै पर्यटक सुरक्षा, विश्वसनीय सूचना प्रवाह र पर्यटन क्षेत्रको दिगो पुनरुत्थानलाई प्राथमिकतामा राख्ने जनाएको छ।

See More On

सुझावित समाचार