हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जाडोयाममा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन् । 

रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युत् पूर्वाधारमा क्षति पुग्दा १० प्रतिशत विद्युत् प्रणालीबाहिर गएर राष्ट्रिय प्रसारणलाइनमा चाप परेको बताए । चापका बिच विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारणलाइनमा सन्तुलन बनाइरहेको भन्दै मन्त्री श्रेष्ठले हिउँदमा आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताए । 

‘अब जोडिने प्रसारणलाइन के–कस्तो छ, अरू ठाउँमा पनि सम्भावित हिसाबले जोखिम छ, त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने छलफल भएको छ । तैपनि जाडो महिनामा पनि अहिलेजस्तै विद्युत् आपूर्तिलाई सन्तुलित राख्नमा हामीले वर्कआउटहरू गरिरहेका छौँ । आशा गरौँ, अहिले अब प्रसारणलाइनमा जोडिनेलगायत आपूर्ति सन्तुलित हुनेछ,’ उनले भने ।  

प्रसारणलाइनबाट बाहिर गएकाले केही असहज हुन्छ कि भनेर चिन्ता व्यक्त गर्दै मन्त्री श्रेष्ठले त्यसमा वर्कआउट भइरहेको बताए । ‘जाडो महिनामा माग धेरै हुँदो रहेछ । खासगरी दुई महिनामा त्यो हुन्छ । त्यसको वर्कआउटहरू भइरहेको छ,’ उनले भने ।  

मन्त्री श्रेष्ठले नुवाकोटमा बाढीको २४ घण्टाभित्र विद्युत् जोडिएको र रसुवामा पनि हालै विद्युतीकरण भएको जानकारी दिँदै अब आउने सुक्खायाममा कसरी व्यवस्थापन गर्ने भनेर प्राविधिक हिसाबले तयारी भइरहेको बताए ।

सुझावित समाचार