उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा मादक पदार्थ सेवन गरेका एक पुरुषले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँका अनुसार सोही ठाउँका ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी श्रीमती ४५ वर्षीया बिमला राईको हत्या गरेका हुन् ।
उनले भने, ‘मादक पदार्थ सेवन गरी घरायसी विवादको क्रममा धारिलो घरेलु हतियार प्रयोग गरि हत्या गरेको रहस्य खुलेको छ । उनका अनुसार गएको शनिबार राति करिब १२ः३० बजेतिर श्रीमति बिमलाको गर्दनमा प्रहार गरी हत्या गरेका थिए ।
घटनालगत्तै प्रहरीले गन्दु रामलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखेको छ । अस्थायी प्रहरी बिट माडिबासबाट खटिएको टोलीले घाइते बिमलालाई उद्धार गरी नगर अस्पताल बेल्टार पुर्याएको थियो ।
तर, उपचारका क्रममा राति १ः१५ बजे चिकित्सकले बिमलालाई मृत घोषणा गरेका थिए । घटनास्थलमा अहिले प्रहरीले घटनाको प्रमाण संकलन तथा घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।