उदयपुरमा दुई महिनायता ४९ जनालाई डेंगी संक्रमण

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

उदयपुरमा साउन र भदौ महिनामा मात्रै ४९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। चालू आर्थिक वर्षको दुई महिनामा झापा र खोटाङपछि तेस्रो स्थानमा उदयपुरमा सो संख्यामा डेंगी संक्रमण भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ मेडिकल ल्याब टेक्निसियन लौकाजी राईका अनुसार आर्थिक वर्ष ०८२/८३ मा जिल्लाभर ४६ जनालाई मात्रै डेंगी संक्रमण भएकामा यस आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै संक्रमितको संख्या ४९ पुगेको हो।

सबैभन्दा बढी त्रियुगा र बेलका नगरपालिकामा २३/२३ जना, चौदण्डीमा २ र कटारी नगरपालिकामा एकजनामा डेंगी पुष्टि भएको छ। उनका अनुसार दुई हजार तीन सय ८४ जनामा डेंगी परीक्षण गरिएकामा ४९ जनामा संक्रमण पुष्टि भएको थियो। कोशी प्रदेशमा साउन र भदौमा सबैभन्दा बढी झापामा चार सय ३३ र खोटाङमा ७२ जनामा डेंगी संक्रमण भएको छ।

डेंगी संक्रमणको जोखिम बढ्दै गएपछि त्रियुगा नगरपालिकाले लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने अभियानदेखि विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। बजार क्षेत्रभित्र वर्कसप/ग्यारेज, कवाडी तथा फोहोरजन्य सामग्री व्यवस्थापनमा संलग्न व्यवसायी, निर्माण व्यवसायी, शिक्षक, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, युवा क्लबका सदस्य तथा कलेज तहका विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ।

लामखुट्टेले जमेको सफा पानीमा समेत प्रजनन गर्ने भएकाले घर तथा वरपर पानी जम्न नदिने, टायर, गमला, बोतल, ड्रमलगायत पानी जम्न सक्ने सामग्री व्यवस्थापन गर्ने र आफ्नो टोल तथा समुदायमा नियमित सरसफाइ गर्ने कार्यलाई अभियानको मुख्य प्राथमिकतामा राखिएको छ।

सुझावित समाचार