नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा अर्थमन्त्री डा. वाग्लेको जोड

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबिचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन्। भारतको औपचारिक भ्रमणमा रहेका उनले दुई देशबिचको साझेदारीलाई समयसापेक्ष बनाउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जालको विस्तार अपरिहार्य रहेको  बताए। 

नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आइआइसी)मा शुक्रबार आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै उनले आर्थिक साझेदारीलाई जोड दिएका हुन् । नेपालले हालै व्यहोरेको प्राकृतिक विपत् र त्यसले पुर्याएको जनधनको क्षतिबारे चर्चा गर्दै संकटको घडीमा भारत सरकार तथा जनताले देखाएको तदारुकता एवं उल्लेखनीय सहायताप्रति डा. वाग्लेले आभार व्यक्त गरे। विपतपछिको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउन नेपाल ‘बिल्ड ब्याक बेटर’को अवधारणा दृढतापूर्वक लागू गरिरहेको  उनले जानकारी गराएका छन्। 

जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि यसको मार हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीले अत्यधिक खेप्नुपरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको मुद्दालाई नेपाल र भारतले सँगै मिलेर अघि बढाउनुपर्ने  बताए। साथै, परम्परागत सहायता ढाँचाबाट माथि उठेर विकासवित्तका बदलिँदा आयाम, हरित वित्त र सहुलियतपूर्ण वित्तीय उपकरणहरूको अधिकतम परिचालनमा उनले जोड दिए। 

उनले विद्यमान नेपाल–भारत व्यापार सन्धिमा समयानुकूल सुधार गरी व्यापार घाटा न्यूनीकरण र गैरभन्सार अवरोधहरूको निराकरण गर्नुपर्ने आवश्यकता औँल्याए। नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत र कानुनी सुधार गरिएकाले ऊर्जा, उत्पादनमूलक उद्योग र प्रविधि क्षेत्रमा भारतबाट प्रत्यक्ष वैदेशिक लगानी   बढाउन उनले भारतीय पक्षलाई आह्वान गरे।

जनादेश, सुशासन र विकास आकांक्षा
अर्थमन्त्री डा. वाग्लेले वर्तमान सरकार नेपाली जनताको भारी जनादेशबाट बनेको स्मरण गराउँदै जनताको तीव्र विकास र आर्थिक रूपान्तरणको चाहनालाई पूरा गर्न सरकार पूर्ण रूपमा समर्पित रहेको बताए। ‘हाम्रो विकास आकांक्षा नीतिगत स्थायित्व र संस्थागत सुधारमा आधारित छ,’ उनले भने, ‘वर्तमान सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता  र सुशासन कायम गर्न दृढ छ। पारदर्शी र जवाफदेही शासन व्यवस्था नै आर्थिक समृद्धिको आधार हो।’

उच्चस्तरीय सहभागिता र विमर्श
कार्यक्रममा भारतका वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिकार तथा अर्थशास्त्रीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजना स्थलसमेत रहेको इन्डिया इन्टरनेसनल सेन्टर (आइआइसी) का अध्यक्ष तथा नेपालका लागि पूर्वभारतीय राजदूत एवं पूर्वविदेशसचिव श्याम शरणले गोलमेच संवादमा महत्त्वपूर्ण भूमिका निर्वाह  गरेका थिए। शरणले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष बनाउन नीतिगत तहमा यस्ता गहन र खुला विमर्शहरू फलदायी हुने धारणा राखेका थिए। 

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित पूर्व भारतीय विदेशसचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरण, भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता एवं राज्य सभा सदस्य जयराम रमेश, पूर्वराष्ट्रिय सुरक्षासल्लाहकार तथा पूर्वविदेशसचिव शिवशंकर मेनन, पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा कूटनीतिज्ञ पंकज शरण,  अर्थशास्त्री तथा जेएनयूका एमेरिट्स प्रोफेसर प्रा. डा. दीपक नायर, इन्डिया ट्रेड प्रमोसन अर्गनाइजेसनका अध्यक्ष जावेद असरफ, नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित राय, भारतीय जनता पार्टी (भाजपा) विदेश मामिला विभाग प्रमुख डा. विजय चौथाइवाले, दक्षिण एसियाली भूराजनीति तथा कनेक्टिभिटी अध्येता डा. कन्स्ट्यान्टिनो जेभियर, भारतीय विदेश मन्त्रालयका निर्देशक मनु स्मृति, द हिन्दुकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदर  र नेपाली प्रतिनिधिमण्डल सहभागी थिए।

मन्त्री वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमण तथा विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन्। 

सुझावित समाचार