श्रीलंकाली कप्तान चरिथ विराटनगर किंग्समा

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण
  • तेस्रो संस्करणको एनपिएलमा अस्ट्रेलियन डेभिड वार्नरपछि श्रीलंकाको टी–२० आईका कप्तान चरिथ असलंका दोस्रो चर्चित क्रिकेटर

श्रीलंकाको टी–२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान चरिथ असलंकाले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सबाट प्रतिस्पर्धा गर्ने भएका छन् । दोस्रो संस्करणमा प्ले अफ स्थान रक्षा गरेको विराटनगरले आगामी एनपिएलका लागि चर्चित क्रिकेटर भित्र्याउने क्रममा चरिथलाई अनुबन्ध गरेको बिहीबार सोसल मिडियाबाट जानकारी दिएको छ । एनपिएलको तेस्रो सिजनमा चरिथ नेपाल आउने दोस्रो विश्वप्रसिद्ध खेलाडी हुन् । 

यसअघि काठमाडौं गोर्खाजले अस्ट्रेलियाका डेभिड वार्नरलाई गत साता अनुबन्ध गरेको थियो । विराटनगरले दोस्रो सिजनमा दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डु प्लेसिसलाई भित्र्याएको थियो । श्रीलंकाली अलराउन्डर चरिथलाई वर्तमान समयमा प्रभावशाली खेलाडीका रूपमा लिइन्छ । चरिथ क्यारेबियन प्रिमियर, लंका प्रिमियर लिग, पाकिस्तान सुपर लिग र युएईको इन्टरनेसनल लिग टी–२० लगायतका प्रमुख फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसकेका छन् । उनी अहिले इंग्ल्यान्डविरुद्धको टी–२० आई सिरिजमा श्रीलंकाको कप्तानी गरिरहेका छन् ।

चरिथ सन् २०२१ देखि श्रीलंकाको अन्तर्राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका छन् । उनले सन् २०२१ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय र भारतविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । टी–२० अन्तर्राष्ट्रिय डेब्युमै उनले २६ बलमा ४४ रन जोडेका थिए । विराटनगरले अनुभवी क्रिकेटको आगमनले टोली बलियो भएको जनाएको छ । ‘चरिथ असलंकाजस्ता अनुभवी खेलाडीलाई विराटनगर किंग्समा स्वागत गर्न पाउँदा उत्साहित छौँ, उनको अन्तर्राष्ट्रिय अनुभव, आक्रामक ब्याटिङ र नेतृत्व क्षमताले एनपिएलको तेस्रो सिजनमा टोलीलाई थप ऊर्जा प्रदान गर्नेछ,’ विराटनगरले जनाएको छ । चरिथले विराटनगरमा आबद्ध हुन पाउँदा खुसी लागेको बताए । उनले नेपालमा खेल्न आफू उत्साहित रहेको जनाए । ‘तेस्रो नेपाल प्रिमियर लिगमा विराटनगरको प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छु । नेपालमा क्रिकेटप्रतिको जुन उत्साह, माया र समर्थन छ, त्यसबारे धेरै सुनेको छु,’ उनले भने, ‘अब आफैँ नेपाल आएर नेपाली क्रिकेट समर्थकसँग त्यो अनुभव साझा गर्न आतुर छु ।’ 

टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन
सन् २०२१ मा डेब्यु गरेको सिजनमै चरिथले आइसिसी पुरुष टी–२० विश्वकपमा श्रीलंकाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले विश्वकपमा ६ खेलबाट २३१ रन बनाए । सो विश्वकपमा उनी श्रीलंकाका सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए । चरिथले विश्वकपमा ४६.२० को औसत र १४७.१३ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए ।

सन् २०२२ मा उनले अस्ट्रेलियाविरुद्ध आफ्नो पहिलो एकदिवसीय शतक प्रहार गरेका थिए । अस्ट्रेलियाविरुद्धको शतकपछि उनलाई श्रीलंकाली टोलीको मध्यक्रममा विश्वासिला ब्याट्सम्यानका रूपमा लिइयो । त्यसपछि उनी आक्रामक ब्याट्सम्यानका रूपमा विश्वलाई चिनाउँदै अगाडि बढे । बलिङतर्फ पनि त्यतिकै राम्रो गर्न सक्ने भएकाले उनलाई उपयोगी अलराउन्डरका रूपमा लिने गरिन्छ ।

७७ टी–२० आईका अनुभवी खेलाडी
टी–२० आईमा उनले अहिलेसम्म श्रीलंकाबाट ७७ खेल खेलेका छन् । यसक्रममा उनले एक हजार ४६६ रन बनाएका छन् । टी–२० आईमा उनले सात विकेट आफ्नो नाममा लेखाएका छन् । समग्र टी–२० क्रिकेटमा उनले १८५ खेलबाट तीन हजार ७१५ रन र ३७ विकेट आफ्नो नाममा गरेका छन् । चरिथले जुलाई २०२४ मा श्रीलंकाको टी–२० आई टोलीको कप्तानी सम्हालेका थिए । सोही महिनामै उनले एकदिवसीय टोलीको कप्तानीको जिम्मेवारीसमेत पाएका थिए । सन् २०२४ देखि २०२५ सम्म श्रीलंकाको एकदिवसीय टालीको कप्तानीको अनुभव लिए ।

श्रीलंकाका प्रभावशाली मध्यक्रमका ब्याट्सम्यान चरिथले विराटनगरमा आफ्नो अनुभव र क्षमता प्रयोग गर्दै समर्थकलाई सम्झनलायक क्षण दिने लक्ष्य रहेको पनि बताए । ‘विराटनगरसँग मिलेर उत्कृष्ट क्रिकेट खेल्ने, टोलीका लागि आफ्नो अनुभव र क्षमता प्रयोग गर्ने तथा समर्थकलाई सम्झनलायक क्षण दिने मेरो लक्ष्य हुनेछ,’ उनले भने, ‘एनपिएलमा नयाँ चुनौती र नयाँ वातावरणमा खेल्न पाउनु मेरा लागि विशेष अनुभव हुनेछ । नयाँ परिवारसँग जोडिन पाउँदा गर्व र उत्साह दुवै महसुस गरिरहेको छु ।’

सुझावित समाचार