परराष्ट्रमन्त्री शिशिर खनाल र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा. हनान एच. बाल्खीबिच शिष्टाचार भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटमा डा. बाल्खीले नेपालमा हालै आएको बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरिन्। उनले कठिन परिस्थितिमा नेपाल सरकारले देखाएको नेतृत्वको प्रशंसासमेत गरिन्।
भेटका क्रममा डा. बाल्खीले डब्लुएचओको महानिर्देशक पदका लागि आफ्नो उम्मेदवारी, दृष्टिकोण तथा प्राथमिकताबारे जानकारी गराउँदै आफ्नो उम्मेदवारीका लागि नेपालको समर्थनको अपेक्षा व्यक्त गरिन्।
परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्यसम्बन्धी जोखिम तथा रोगको प्रभाव नेपाललगायत जोखिममा रहेका विकासशील मुलुकहरूमा बढ्दै गएको विषयमा जोड दिए। उनले जलवायुजन्य स्वास्थ्य चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र प्रभावकारी स्वास्थ्य प्रणालीको आवश्यकता रहेको बताए।
सो अवसरमा नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरको पनि सहभागिता थियो। मन्त्री खनालले यस कठिन समयमा साउदी अरेबियाबाट नेपालप्रति व्यक्त गरिएको ऐक्यबद्धताप्रति पनि आभार व्यक्त गरे।