कञ्चनपुरको भीमदत्त नगरपालिका– ५, बनखेतबाट प्रहरीले खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ।
लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका– ६ बस्ने ३० वर्षीय हरिशप्रसाद जोशीलाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा जोशीले मुखभित्र कालो प्लास्टिकमा पोका बनाई लुकाएर राखेको अवस्थामा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पोका मुखबाट निकालेर तौल गर्दा ११.०४ ग्राम लागुऔषध बरामद भएको जनाएको छ।
बरामद लागुऔषधसहित जोशीलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।