संविधान तथा राष्ट्रिय दिवसमा बागमतीभर दुई दिन दीप प्रज्वलन गरी मनाउन आग्रह

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

नेपालको संविधान २०७२ जारी भएको ११ वर्ष पूरा भई १२औँ वर्ष प्रवेश गरेको अवसरमा बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस– २०८३ विभिन्न कार्यक्रमसहित मनाउने भएको छ । 

प्रदेशस्तरीय मूल समारोह समितिले असोज २ र ३ गते साँझ प्रदेशभर घर, कार्यालय तथा सार्वजनिक स्थलमा दीप प्रज्वलन गरी दिवस मनाउन सरकारी निकाय, स्थानीय तह, सार्वजनिक तथा शैक्षिक संस्था, निजी क्षेत्र, नागरिक समाज र सर्वसाधारणलाई आह्वान गरेको छ । 

मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा बसेको संविधान दिवस तथा राष्ट्रिय दिवस प्रदेश मूल समारोह समितिको बैठकले दुईदिने कार्यक्रम तय गरेको हो । समितिका अनुसार असोज २ गते शुक्रबार र ३ गते शनिबार प्रदेशका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान तथा संघसंस्थाले आ–आफ्नो परिसर सरसफाइ गर्नेछन् । नगर क्षेत्रको विशेष सरसफाइको जिम्मेवारी प्रदेशका मन्त्रालय र मातहतका कार्यालयलाई दिइएको छ ।

दुवै दिन सरकारी निकाय, प्रतिष्ठान तथा संघसंस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित ढाँचाका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखेर सजाउने तथा साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम छ । सर्वसाधारणलाई पनि दुवै दिन साँझ आ–आफ्नो घर तथा परिसरमा दीप प्रज्वलन गर्न मूल समारोह समितिले आह्वान गरेको छ ।
यस्तै, प्रदेश राजधानी हेटौँडाको बुद्धचोक र बसपार्कमा राष्ट्रिय झन्डा फहराउने कार्यक्रमसमेत तय गरिएको छ ।

संविधान दिवसका दिन असोज ३ गते शनिबार बिहान ८ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रांगणमा प्रदेशस्तरीय संविधान दिवस एवं राष्ट्रिय दिवस मूल समारोह आयोजना गरिने भएको छ । समारोहमा स्थानीय संस्कृति र वेशभूषा झल्कने झाँकी प्रदर्शन गरिने समितिले जनाएको छ ।

समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री किरण थापामगर, निवर्तमान मुख्यमन्त्री एवं प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ र प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल सहभागी हुने कार्यक्रम तय भएको छ । 

यसअघि संविधान दिवसको अवसरमा असोज १ गते बिहीबारदेखि नै विभिन्न कार्यक्रम सुरु हुनेछन् । स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले ‘संवैधानिक सर्वोच्चता र समृद्ध नेपाल निर्माणमा युवाको भूमिका’ विषयमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगिताका विजेता तथा विद्यार्थीलाई असोज ३ गतेको मूल समारोहमा पुरस्कार प्रदान गरिनेछ ।
 

सुझावित समाचार