भास्कुलरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, नेपालको मेडिकल टुरिजम र विदेशी बिरामीको संख्या बढ्ने अपेक्षा

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

आउँदो चैतमा भास्कुलर समिटको दोस्रो संस्करण ‘हिमभास– २०२७’ काठमाडौंमा आयोजना हुने भएको छ । उक्त सम्मेलनमा भास्कुलर सर्जनहरू, कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, भास्कुलर फेलोज, कार्डियाक सर्जरी फेलोज, सर्जिकल रेसिडेन्स, नर्स प्राक्टिस्नर्स, फिजिसियन असिस्टेन्ट, नर्सहरूलगायतको सहभागिता रहनेछ । यसले नेपालको मेडिकल टुरिजमलाई उकास्ने र विदेशबाट समेत उपचार गर्न आउने बिरामीको संख्या बढ्न सक्ने अपेक्षासमेत राखिएको छ । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त सम्मेलनबारे जानकारी दिँदै संयोजक एवं वरिष्ठ भास्कुलर सर्जन डा. सन्दीपराज पाण्डेयले नेपालका चिकित्सकीय अनुभव आदाप्रदान र मेडिकल टुरिजम विकासमा यसले मद्दत पुग्ने बताए ।

सम्मेलन आगामी ३ चैतदेखि ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सयभन्दा धेरै मुलुकका विज्ञ चिकित्सक तथा वैज्ञानिकहरूलाई आमन्त्रण गरिएको छ । हालसम्म ६० भन्दा बढी देशबाट रजिस्ट्रेसन गरिसकेका छन् ।

‘हामीले यसअघि तीन वर्ष पहिले गरेको सम्मेलनमा ४३ देशका विज्ञ चिकित्सकसहित कुल ३५० जनाको सहभागिता रहेको थियो, यसपटक सयभन्दा बढी देशमा पत्र पठाएका छौँ, स्वदेशी र विदेशी गरी एक हजारको सहभागिता रहन्छ, यसले नेपालको मेडिकल टुरिजम उकास्छ, स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्छ, अन्तर्राष्ट्रिय अनुभवहरूलाई नेपालले पनि सिक्न र जान्न सक्छ,’ उनले भने, ‘भास्कुलरबारे भएका नयाँ–नयाँ खोज, अध्ययन, अनुसन्धान र उपचारबारे प्रस्तुतीकरण तथा छलफल हुन्छ ।’ उनले हाल नेपालमा वार्षिक रूपमा हेर्दा सयभन्दा बढी विभिन्न बिरामी उपचारका लागि आएकोसमेत बताए । यस्तो सम्मेलनले विदेशी बिरामीको संख्यासमेत बढाउन र स्वास्थ्य सेवालाई विश्वसनीय बनाउन टेवा मिल्ने उनको भनाइ छ ।

सुझावित समाचार