१५औँ महाधिवेशनमा उत्साहका साथ सहभागी हुन कांग्रेस सभापति थापाको अपिल

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्।

२०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन सम्पन्न हुने जानकारी दिँदै सभापति थापाले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको बृहत्तर हितका लागि संवाद, सहमति र अधिवेशन प्रक्रियामा सक्रिय रहेका सबैप्रति आभार व्यक्त गरेका छन्।

थापाले नेपालको संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनबमोजिम महाधिवेशनको प्रक्रिया अघि बढिरहेको बताएका छन्। लोकतन्त्रमा फरक मत स्वाभाविक हुने भन्दै उनले पार्टीभित्रका मतभेद र असमझदारीलाई संवाद, विधि र पद्धतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

'लोकतन्त्रमा फरक मत हुने गर्छन्, पार्टीभित्र आन्तरिक मतभेद र असमझदारी हुन सक्छन्। तर, ती भिन्न मतको सम्मान गर्न सक्नु, संवाद, विधि र पद्धतिबाट त्यसको समाधान खोज्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो,' थापाले भनेका छन्।

नेपाली कांग्रेसमा फरक मतलाई स्वीकार गर्दै विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहेको उल्लेख गर्दै उनले वर्तमान कार्यसमितिले सबै कांग्रेसजनको मनोभावनाअनुसार पटक–पटक संवादमार्फत सहमतिका विकल्प स्वीकार गर्दै सहभागिताको वातावरण बनाउन प्रयास गरेको बताएका छन्।

सुझावित समाचार