प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका जोखिम, क्षति र विपतका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुस्ताङको जोमसोममा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’का अवसरमा पठाएको शुभकामना सन्देशमार्फत प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधान विश्व समुदायको साझा जिम्मेवारी भएको बताएका हुन्। उनले जलवायुजन्य जोखिम न्यूनीकरण र विपत् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्या, क्षति तथा समाधानका उपायबारे विश्व समुदायको ध्यानाकर्षण गराउने बताएका छन्। हिमाली, पहाडी र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर प्रभावबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उनको भनाइ छ।
तापक्रम वृद्धिका कारण नेपालका हिमाल पग्लिने, हिमचट्टान टुक्रिने तथा हिमताल र हिमनदीमा जोखिम बढ्ने क्रम तीव्र हुँदै गएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। यससँगै नदीको बहाबमा परिवर्तन, पानीका मुहान सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन हुने समस्या पनि बढिरहेको उनले बताएका छन्।
जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले स्थानीय जनजीवन, कृषि तथा जैविक विविधतामा समेत यसको प्रभाव देखिन थालेको बताएका छन्। जलवायुजन्य जोखिमका कारण विपतकाे सम्भावना बढ्दै गएकाले यसको न्यूनीकरण तथा व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताएका छन्।