सुदूरपश्चिमका एक युवाले परदेशी भूमिमा आफ्नो मातृभूमिको लोकभाषा, कला र संस्कृति उजागर गर्दै आएका छन्। सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीका स्थानीय तथा लोक देउडा युवा गायक अमृत नाथ विदेशी भूमिमा रहेर पनि मातृभूमिको मौलिक भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा जुटेका हुन्।
लोक देउडा गीतमा आफ्नो छुट्टै पहिचान बनाएका नाथ केही वर्षदेखि अध्ययनका लागि पूर्वी एसियाली मुलुक जापानमा छन्। अध्ययनकै सिलसिलामा मातृभूमि छाडे पनि उनले आफ्नो लोकपरम्परा, भाषा र संस्कृति भने छाडेका छैनन्।
स्वदेशमा हुँदा मात्रै होइन, विदेशमा रहँदा पनि उनले जापानीसहित विदेशी नागरिकसँग सुदूरपश्चिमेली भाषामै संवाद गर्दै लोक देउडा गीतमा नचाउने गरेका छन्। लाइभ देउडामा कलात्मक प्रस्तुति दिँदै दर्शकलाई आकर्षित गर्दै आएका नाथले अहिले त्यही शैली जापानमा पनि अपनाएका छन्।
जापानमा रहेका नेपाली तथा सुदूरपश्चिमेली समुदायदेखि अन्य देशका नागरिकलाई समेत उनले आफूले सिर्जना गरेका दर्जनौँ गीतमार्फत मनोरञ्जन दिँदै आएका छन्। नेपाली सुदूरपश्चिमेली समुदायले मनाउँदै आएको गौरा र तिजको समयमा हालै नाथले बजारमा ल्याएको ‘लैदे माया गैला किसिमको’ लोक देउडा गीत जापानमा समेत घन्काउँदै उनी देउडामा रमाउँदै र रमाउँदै आएका छन्।
विदेशमा रहँदा पनि नाथले सुदूरपश्चिमको लोकभाषा, कला, संस्कृति र मौलिकता झल्किने देउडा गीत बजारमा ल्याएका छन्। उक्त गीतमा नाथसहित अर्का लोक देउडा गायक भानुभक्त जोशी सर्जकका रूपमा रहेका छन्। नाथ स्वयंले संगीत संकलनदेखि मुख्य गायनसम्मको जिम्मेवारी सम्हालेका छन् भने उनलाई स्वदेशबाट चर्चित लोकदोहोरी गायिका इस्बल सञ्जालले साथ दिएकी छिन्।
नाथले उक्त गीत आफ्नो युट्युब च्यानलमार्फत ६ भदौ ०८३ (२२ अगस्ट २०२६) मा सार्वजनिक गरेका हुन्। हालसम्म उक्त गीत ६८ हजारभन्दा बढीले हेरिसकेका छन्।
जापान जानुअघि नाथले इस्बल सञ्जालसँगै ‘साथीभाइलाई सम्झना छ’ लोक देउडा गीत पनि बजारमा ल्याएका थिए। यसका साथै स्वदेशमै रहँदा उनले ‘अमर जोडी’, ‘मोहनी’, ‘रानचडी’, ‘दुःखी मन’ र ‘दिलको कारागार’लगायतका लोक देउडा गीत बजारमा ल्याइसकेका छन्।
नाथले हालसम्म बजारमा ल्याएका लोक देउडा गीत तथा लाइभ देउडा प्रस्तुतिबाट दर्शकको आकर्षणसमेत बढ्दै गएको छ। अहिले अध्ययनकै सिलसिलामा जापानमा रहेका नाथले मातृभूमिप्रतिको अगाध माया र स्नेह गीत–संगीतकै माध्यमबाट व्यक्त गरिरहेका छन्। उनले रिल, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत समेत स्थानीय भाषा र संस्कृतिको प्रवर्द्धन गर्दै आएका छन्।
स्वदेशमा विभिन्न महोत्सव, मञ्च तथा देउडा खेलका क्षेत्रमा धमाकेदार प्रस्तुति दिँदै आएका नाथले अहिले विदेशी भूमिमा स्वदेशको भाषा, कला र संस्कृतिलाई घन्काइरहेका छन्।
सुदूरपश्चिमका लोक देउडा युवा गायक अमृत नाथले आफू जहाँ भए पनि आफ्नो मातृभूमि र स्वदेशको मौलिक कला, भाषा तथा संस्कृति उजागर गर्नु आफ्नो कर्तव्य भएको बताएका छन्। नेपाली नागरिक विश्वको जुनसुकै देशमा भए पनि त्यहाँको भाषा र संस्कृतिलाई सम्मान गर्दै आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ।