अनियन्त्रित महँगी : अन्डाको भाउ साउनमा चारपटक र भदौमा दुईपटक बढाइयो

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

अन्डाको भाउ साउनमा चारपटक र भदौमा दुईपटक बढाइएकाे छ । बर्डफ्लु संक्रमणका कारण घटेको अन्डाको मूल्य अहिले पुनः उकालो लागिरहेको छ । चैतमा बर्डफ्लु सुरु हुनुअघि नेपाल लेयर्स कुखुरा पालक संघले प्रतिक्रेट (३० वटा) अन्डाको मूल्य ५ सय ३५ रुपैयाँ निर्धारण गरेको थियो । तर, बर्डफ्लु संक्रमण बढ्दै गएपछि खपत न्यून हुँदा मूल्य घटेर ४ सय ७५ रुपैयाँसम्म कायम गरिएको थियो ।

बर्डफ्लु संक्रमण हटेपछि भने माग बढे पनि उत्पादनमा सुधार नआएकाले अन्डाको मूल्यमा चाप परेको संघले जनाएको छ । साउनमा चारपटक र भदौमा दुईपटक मूल्य बढाएर अन्डाको भाउ प्रतिक्रेट ६ सय ५ रुपैयाँ पुर्याइएको छ । संघका अनुसार ५ साउनमा ५ सय २५, १२ साउनमा ५ सय ४५, २५ साउनमा ५ सय ६० र २९ साउनमा ५ सय ७५ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । त्यसपछि ६ भदौमा ५ सय ९० र १८ भदौमा ६ सय ५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

संघका अध्यक्ष विनोद पोखरेलले बर्डफ्लुका कारण धेरै कुखुरा मरेको र किसानले फार्ममा नयाँ उत्पादन सुरु गर्न ढिलाइ गरेकाले उत्पादनमा असर परेको बताए । तर, उपभोक्ता मूल्यमा भने ठुलो असर पर्न नदिइएको उनको दाबी छ । संघले अन्डाको बढ्दो मूल्य र बजार व्यवस्थापनका विषयमा छलफल गर्न मंगलबार दिउँसो बैठक बोलाएको छ । बैठकमा मूल्य समायोजनका विषयमा निर्णय हुन सक्ने बताइएको छ ।

सुझावित समाचार