१० भदौको बाढीले रसुवागढी नाका बन्द भएर ध्वस्त भएसँगै चीनसँग वैकल्पिक नाकाको प्रयोग हुन थालेको छ । रसुवागढी नाका हुँदै चीन प्रस्थान गरेका तथा चीनको तिब्बत क्षेत्रमा भ्रमण गरी नेपाल फर्किएका यात्रुहरूले वैकल्पिक रूपमा सिन्धुपाल्चोकको कोदारी (तातोपानी) र हुम्लाको हिल्सा नाका प्रयोग गरिरहेको अध्यागमन विभागले जनाएको छ ।
विशेष गरी तिब्बतको कैलाश–मानसरोवर यात्रा तथा अन्य भ्रमणका लागि चीन प्रस्थान गरेका यात्रुहरू नेपाल फर्कने क्रममा तातोपानी र हिल्सा नाकाबाट प्रवेश गरिरहेका छन्। चीन प्रस्थान गर्ने यात्रुहरूले समेत यी वैकल्पिक नाकाहरू प्रयोग गर्दै आएकाे विभागका निर्देशक टीकाराम ढकालले बताए।
रसुवागढी नाका अवरुद्ध भएको मिति २०८३ भाद्र १० देखि २०८३ साल भाद्र २९ सम्मको अवधिमा सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै जम्मा ३,९०४ जना यात्रु नेपाल प्रवेश गरेका छन्, जसमध्ये १,७३३ जना महिला रहेका छन्। सोही अवधिमा ३९१ जना यात्रु तातोपानी नाका हुँदै चीनतर्फ प्रस्थान गरेका छन्।
यसैगरी, सोही अवधिमा हुम्लाको हिल्सा नाका हुँदै जम्मा ३८७ जना यात्रु नेपाल प्रवेश गरेका छन्। नेपाल प्रवेश गरेका यात्रुमध्ये १६५ जना रसुवागढी नाका हुँदै चीन प्रस्थान गरेका यात्रुहरू रहेको देखिएको छ। सोही अवधिमा हिल्सा नाका हुँदै जम्मा १७८ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन्। यी दुवै वैकल्पिक नाकाबाट आगमन-प्रस्थान गर्ने विदेशी यात्रुहरूमा सबैभन्दा बढी भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका नागरिकहरू रहेका छन्। यात्रुहरूको सहज आवागमन तथा अध्यागमन व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्दै अध्यागमन विभागले जनाएको छ।