जेब्राझोलाभित्र झन्डै चार किलो चरेस फेला

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

कञ्चनपुरको पुनर्वास नगरपालिका– ११, डोकेबजार क्षेत्रबाट सशस्त्र प्रहरीले तीन किलो ८५० ग्राम चरेस बरामद गरेको छ। आइतबार साँझ दक्षिणी सीमा डोकेबजार क्षेत्रमा गस्ती टोली देखेपछि एक युवक जेब्राझोला फालेर भारतीय जंगलतिर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका गणपति एसपी प्रेमप्रकाश सिग्देलले उक्त झोलाबाट सो परिमाणमा चरेसजस्तो देखिने पदार्थ बरामद गरेको बताए। एसपी सिग्देलका अनुसार बिओपी डोकेबजारबाट सशस्त्र प्रहरी सहायक हवल्दार महेन्द्र विष्टको कमान्डमा खटिएको गस्ती टोलीलाई देखेपछि ती व्यक्ति झोला फालेर भागेका थिए।

झोलाबाट ईश्वरबहादुर धामीको नाममा जारी नेपाली नागरिकता, भारतीय आधारकार्ड, कर्नाटक स्टेटको ड्राइभिङ लाइसेन्स, सवारीसाधन दर्ता प्रमाणपत्र तथा दुईवटा नेपाली सिमकार्ड र एउटा सिम एडप्टरसमेत बरामद भएका छन्। झोलामा २९ वटा चाउचाउ पनि भेटिएका छन्। 

बरामद सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी पचकडिया, कञ्चनपुरमा बुझाइएको सशस्त्रले जनाएको छ। फरार व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार