बाढी प्रभावितलाई स्थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण
बाढी प्रभावितलाई स्थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने

१० भदौमा भोटेकोशीमा आएको बाढीले नुवाकोटमा ३९ सय ७७, रसुवामा १४ सय ७९, धादिङमा १४ सय ५१, गोरखामा २६३ र चितवनमा १०० घर क्षतिग्रस्त भएका छन् ।

  • चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार तथा त्यसभन्दा बढी परिवार संख्या भएमा थप प्रतिसदस्यबराबर दुई हजारका दरले खर्च उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय
  • राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्यांकन प्रतिवेदनअनुसार बाढीमा ७ हजार ५७० घर क्षतिग्रस्त 

भोटेकोशी बाढीबाट घरबारविहीन बनेका पीडितलाई सरकारले अस्थायी आवासका लागि मासिक खर्च उपलब्ध गराउने भएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्यांकन प्रतिवेदनअनुसार बाढीमा सात हजार ७७० घर क्षतिग्रस्त भएका छन् । तीमध्ये कतिपय पूर्ण र कतिपयमा आंशिक क्षति भएको विवरण छ । चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार तथा त्यसभन्दा बढी परिवार संख्या भएमा थप प्रतिसदस्यबराबर दुई हजारका दरले खर्च उपलब्ध गराउने सरकारको निर्णय छ । 

सुविधा लिन नचाहनेलाई भने स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराउने सरकारको निर्णय छ । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले भने, ‘विवरण संकलनका लागि सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको छ ।’ सरकारी तथ्यांकअनुसार हाल दुई हजार ७१२ जना पीडित होल्डिङ सेन्टरमा बस्दै आएका छन् ।

आयोग र प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्यांकन प्रतिवेदनअनुसार सबैभन्दा धेरै नुवाकोटमा मात्र तीन हजार ९७७ घर क्षतिग्रस्त छन् । नुवाकोटको विदुरभित्र मात्र तीन हजार २६ घरमा क्षति पुगेको छ । त्यस्तै, रसुवामा एक हजार ४७९, धादिङमा एक हजार ४५१, गोरखामा २६३ र चितवनमा एक सय घरमा क्षति पुगेको छ । निजी घरमा मात्र ६३ अर्ब ८८ करोडको क्षति भएको सरकारीको प्रारम्भिक प्रतिवेदन छ । लाङटाङ क्षेत्रमा गएको हिमपहिरोका कारण गत १० भदौमा भोटेकोशीमा बाढी आउँदा आसपासको क्षेत्रमा ठुलो क्षति भएको हो । बाढीले टिमुरे, स्याफ्रुबेँसी तथा वेत्रावती बजारमा सर्वाधिक क्षति पुर्याएको छ । बाढीले चितवनसम्म क्षति गरेको थियो । 

सुझावित समाचार