पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताएका छन्।
ललितपुरमा आइतबार आयोजित ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ को ग्रान्ड अवार्ड समारोहमा बोल्दै यादवले सम्मानित व्यक्तित्वहरूलाई आगामी दिनमा पनि देशको विकास र समृद्धिमा निरन्तर योगदान गर्न आग्रह गरे।
सिजन मिडियाको प्रस्तुतिमा आयोजित कार्यक्रममा नेपालसहित विभिन्न एसियाली मुलुकका व्यावसायिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्व र संस्थालाई सम्मान गरिएको थियो। यादवले उत्कृष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने यस्तो कार्यक्रमले समाजमा सकारात्मक कामका लागि प्रेरणा प्रदान गर्ने बताए।
नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद साफिकुर रहमानले एसियाली समाजमा उत्कृष्टता, समर्पण र योगदानको कदर गर्ने यस्ता कार्यक्रमले युवासहित सबैलाई समाजसेवाका लागि प्रेरित गर्ने बताए।
उनले अवार्ड कार्यक्रमले नेपाल र बंगलादेशबिचको जनस्तरको सम्बन्ध तथा सांस्कृतिक सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।