सिटी सफारीको ठक्करबाट घाइते वृद्धलाई अस्पताल लैजाने बहानामा बाटोमै फालेपछि मृत्यु

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

विराटनगरमा सिटी रिक्साले ८२ वर्षीय वृद्धलाई ठक्कर दिएर घाइते बनाएपछि उपचारमा लान्छु भनेर बाटोमै फ्याँकेर बेपत्ता भएका सिटीचालकलाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका– ९, ठाकुरवाडी रोडमा पैदल हिँडिरहेका विराटनगर– ८ निवासी तीर्थराज बस्नेतलाई प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले ठक्कर दिएर घाइते बनाएको थियो। वृद्धलाई उपचारका लागि अस्पताल लैजाने बहानामा बिचबाटोमै फ्याँकिदिने सिटीचालक कटहरी गाउँपालिका– २ का ५५ वर्षीय अर्जुन भगत पक्राउ परेका हुन्।

भगतले आइतबार बिहान वृद्धलाई ठक्कर दिएर घाइते बनाएका थिए। त्यसपछि स्थानीयको दबाबमा आफ्नै सिटी सफारीमा राखेर उपचारका लागि भन्दै हिँडेका भगतले  विराटनगर– ७ जिल्ला अदालत मोरङ क्षेत्रमा वृद्धलाई छाडेर भागेका थिए।

स्थानीयले सडककिनारमा वृद्ध व्यक्ति मृत अवस्थामा देखेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। वृद्ध व्यक्तिको छोरा माधव बस्नेतले पहिचान गरेपछि प्रहरीले फरार भएका सिटी रिक्साको खोजी गरेर चालक भगतलाई कटहरीस्थित घरबाटै पक्राउ गरेको हो।

सुझावित समाचार