मोटरसाइकल राजमार्गको बिचमा राखिएको डिभाइडरमा ठोक्किँदा जिल्ला प्रशासन कार्यालय सुनसरीका एकजना कर्मचारीसहित दुईजनाको मृत्यु भएको छ।
आइतबार बिहान करिब पौने ३ बजे इटहरी उपमहानगरपालिका– ७, बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा सुनसरी प्रशासनका एकजना कर्मचारीसहित दुईजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा इनरुवा नगरपालिका– ३ का २९ वर्षीय पारस थापा र सोही स्थानका करिब ३५ वर्षीय सागर रेग्मी छन्। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीको सचिवालयमा कार्यरत कर्मचारी हुन्। थापा पनि केही समयअघि सुनसरी प्रशासनकै राष्ट्रिय परिचयपत्र फाँटमा कार्यरत थिए।
डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएपछि दुवैजना गम्भीर घाइते भएका थिए। प्रहरीले तत्कालै दुवै घाइतेलाई उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो। तर, उनीहरू दुवैको उपचारकै क्रममा आइतबार बिहानै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।