सानीभेरीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, नौ घाइते

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ६, देउता खोलामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्।

आइतबार बिहान कोटगाउँबाट सानीभेरी गाउँपालिका– ९, सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको ल.१च ६०२९ नम्बरको जिप देउता खोलामा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा जिपचालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृतक दुवैको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन्। अन्य पाँचजनाको अवस्था मध्यम रहेको डिएसपी पौडेलले जानकारी दिए। जिपमा चालकसहित ११ जना सवार थिए।

घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। डिएसपी पौडेलको नेतृत्वमा थप प्रहरी टोली पनि घटनास्थलतर्फ गएको छ।

घाइतेको उद्धारका लागि सानीभेरी गाउँपालिकाले खर्च व्यहोर्ने गरी नेपाली सेनाको हेलिकाेप्टर माग गरिएको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिए। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पठाउने तयारी भइरहेको छ।

सुझावित समाचार