प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार दिउँसो चार ठुला उद्योगीसँग छलफल गरेका छन् । रास्वपा सांसद विदुषी राणाको समन्वयमा उद्योगीहरू विनोद चौधरी, चन्द्रप्रसाद ढकाल, पवन गोल्यान र उमेश श्रेष्ठसँग दुई घण्टा गहन छलफल भएको छ । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङ भने स्वास्थ्य समस्याका कारण उपस्थित हुन सकेनन् ।
प्रधानमन्त्री शाहसँगको भेटपछि चौधरीले सरकार र निजी क्षेत्रबिच कुनै पनि विमत्ति नरहेको बताए । ‘सरकार र निजी क्षेत्र एउटै लयमा अगाडि बढ्न सक्छन् भन्ने आजको संवादले स्पष्ट पारेको छ । यो छलफलमा देखिएको सहमतिलाई कति छिटो कार्यान्वयनमा हामीले लैजान सक्छौँ भन्ने कुराले भोलिको नेपाली अर्थतन्त्रको दिशा र लगानीकर्ताले प्रोत्साहन प्राप्त गर्नेछन् भन्ने मलाई लागेको छ,’ उनले भने ‘प्रधानमन्त्रीज्यूसँगको संवादपछि म उत्साहित कुन रूपमा छु भने यति लामो छलफलका क्रममा उहाँ र हामीबिच कुनै पनि विषयमा विमति देखिएन ।’
अर्का उद्योगी चन्द्र ढकालले पनि आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन, पूर्वाधारमा लगानी, रोजगारी सिर्जना र राजस्व वृद्धिका विषयमा प्रधानमन्त्री शाहले सकारात्मक धारणा राखेको बताए । लगानीमैत्री वातावरण बनाउन आवश्यक परे नयाँ कानुन ल्याएर भए पनि सहयोग गर्ने प्रतिबद्धतासमेत प्रधानमन्त्री शाहले जनाएको उनले जानकारी दिए ।
‘व्यवसायी तथा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको अहिलेको अवस्थामा सरकार र निजी क्षेत्रबिच यस्तो प्रत्यक्ष छलफल हुनु र लगानीको विश्वास बढाउने प्रतिबद्धता आउनु सुखद संकेत हो,’ भेटपछि ढकालले भने ।
विनोद चौधरी
सरकार र निजी क्षेत्र एउटै लयमा अगाडि बढ्न सक्छन् भन्ने आजको संवादले स्पष्ट पारेको छ । यो छलफलमा देखिएको सहमतिलाई कति छिटो कार्यान्वयनमा हामीले लैजान सक्छौँ भन्ने कुराले भोलिको नेपाली अर्थतन्त्रको दिशा र लगानीकर्ताले प्रोत्साहन प्राप्त गर्नेछन् भन्ने मलाई लागेको छ ।
चन्द्र ढकाल
आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, पूर्वाधारमा लगानी, रोजगारी सिर्जना र राजस्व वृद्धिका विषयमा सकारात्मक छलफल भयो । लगानीमैत्री वातावरण बनाउन आवश्यक परे नयाँ कानुन ल्याएर भए पनि सहयोग गर्ने प्रतिबद्धतासमेत प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभयो ।