सिराहाको मिर्चैया नगरपालिका– ७, कटारी जाने ग्राबेल बाटोमा बेवारिसे अवस्थामा एउटा एकनाले भरुवा बन्दुक भेटिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भरुवा बन्दुक बोकेर अपरिचित मानिस घुमिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले कोप्चे डाँडाको जंगलमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो।
प्रहरी टोली देख्नेबित्तिकै बन्दुक बोक्ने मानिस फरार भएकाले खोजी भइरहेको र बरामद भरुवा बन्दुक मिर्चैया ल्याएर थप अनुसन्धान भइरहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।