राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाबारे छानबिन हुँदै छ, दोषीलाई कारबाही हुन्छ : स्वास्थ्यमन्त्री

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर महिलाले बच्चा जन्माएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छिन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री मेहताले घटनाको सत्यतथ्य छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारिन्।

उनका अनुसार घटना सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले अस्पताल प्रशासनसँग २४ घण्टाभित्र स्पष्टीकरण मागेको थियो। अस्पतालले स्पष्टीकरण पेस गरिसकेको छ भने घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिल र मन्त्रालयका प्रतिनिधिसहित पाँच सदस्यीय टोली राजविराज पुगेको छ।

घटनाबारे जिल्ला प्रशासन कार्यालय, सप्तरीले पनि छुट्टै छानबिन समिति गठन गरेको मन्त्री मेहताले जानकारी दिइन्। घटनाका वेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाएर छानबिन अघि बढाइएको उनले बताइन्।

मन्त्रालयले घटनाबारे जानकारी पाएलगत्तै आमा र नवजात शिशुको खोजी गरी अस्पताल ल्याएर उपचारको व्यवस्था गर्न निर्देशन दिएको थियो। निर्देशनपछि दुवैलाई अस्पतालमा भर्ना गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा स्याहार भइरहेको मन्त्री मेहताले बताइन्।

छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि दोषी देखिएकामाथि कानुनअनुसार कारबाही गरिने उनले दोहोर्याइन्। साथै, स्वास्थ्य सेवामा देखिएका कमीकमजोरी पहिचान गरी सुधारका लागि सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

सुझावित समाचार