प्रधानमन्त्रीसँगको छलफल सकारात्मक र फलदायी : व्यवसायी ढकाल

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण
प्रधानमन्त्रीसँगको छलफल सकारात्मक र फलदायी : व्यवसायी ढकाल

फाइल तस्बिर

व्यवसायी चन्द्र ढकालले प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफल निकै सकारात्मक र फलदायी रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उद्योगीहरू ढकाल, विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठलगायत सहभागी थिए। ढकालले फेसबुकमार्फत भेटमा भएको छलफलबारे जानकारी दिएका हुन्।

प्रधानमन्त्रीले आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी दुवैको प्रवर्द्धन, पूर्वाधारमा लगानी, रोजगारी सिर्जना र राजस्व वृद्धिका विषयमा चासो राखेको बताउँदै ढकालले लगानीमैत्री वातावरण बनाउन आवश्यक परे नयाँ कानुन ल्याउन तयार रहेको प्रतिबद्धता जनाएका जानकारी दिए।

‘आधा घण्टाको समय तोकिएको भेट दुई घण्टासम्म लम्बिनुले नै यो अन्तरक्रिया कति अर्थपूर्ण थियो भन्ने देखाउँछ। व्यवसायी तथा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको अहिलेको अवस्थामा सरकार र निजी क्षेत्रबिच यस्तो प्रत्यक्ष छलफल हुनु र लगानीको विश्वास बढाउने प्रतिबद्धता आउनु सुखद संकेत हो,’ उनले लेखेका छन्।

निरन्तर छलफल तथा समन्वयका लागि सरकार र निजी क्षेत्रबिच नियमित बैठक बस्ने गरी स्थायी संयन्त्र निर्माण गर्ने विषयमा समेत प्रधानमन्त्री सकारात्मक देखिएकाे ढकालले बताएका छन्।

सुझावित समाचार