बाढीपीडितका लागि युएईबाट पुडासैनीको ५१ लाख सहयोग

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

युएईका नेपाली व्यवसायी विष्णुप्रसाद पुडासैनीले रसुवा र नुवाकोटका बाढीपीडितका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

गत ३१ अगस्टमा पुडासैनीका बुवा गोपीनाथ पुडासैनीको हातबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरिएको हो। उक्त रकम बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रदान गरिएको पुडासैनीले बताए।

दुई दशकभन्दा बढी समयदेखि युएईमा बसोबास गरिरहेका हेटौँडाका पुडासैनी बाढीपीडितलाई सहयोग गर्न दुबईबाट नेपाल गएका हुन्। सामाजिक सञ्जालमा बाढीपीडितको पीडा र रोदन देख्दा मन सम्हाल्न नसकेर सकेसम्म केही गर्छु भन्ने उद्देश्यले नेपाल गएर सहयोग गरेको उनले बताए।

उनले भने, ‘विदेशमा रहेका नेपालीले पनि देशमा संकट पर्दा आफ्नो क्षमता र परिस्थितिअनुसार योगदान गर्नुपर्छ।’

प्राविधिक क्षेत्रमा करिब दुई दशकको अनुभव भएका पुडासैनीको व्यावसायिक यात्रा नेपालबाट सुरु भएको हो। हेटौँडामा विभिन्न पूर्वाधार तथा प्राविधिक परियोजनामा काम गर्दै उनले अनुभव बटुलेका थिए।

सन् २०१५ देखि दुबईमा उनले हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिस कम्पनी स्थापना गरेका हुन्। कम्पनीले भूमिगत पाइपलाइन, ढल तथा फोहोरपानी व्यवस्थापन, औद्योगिक सरसफाइ, पाइपलाइन निरीक्षण र मर्मतलगायत क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ।

सुझावित समाचार