रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघको राहत अभियानलाई एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सामग्री गुमाएका परिवारलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो। सहयोगबाट बाढी प्रभावित क्षेत्रका तीन सय घरधुरीका एक हजार पाँच सयजना प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
बिहीबार आयोजित कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबिच सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरिएको थियो।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. रिजालले प्रभावित क्षेत्रमा स्थलगत रूपमा पहिचान भएका आवश्यकताका आधारमा राहत सामग्री वितरण गरिने बताए।