पर्यटन बोर्डको सिइओ पदका लागि आवेदन माग

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सिइओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शुक्रबार (भदौ २६ गते) सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

बोर्डका अनुसार इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनसम्म दरखास्त बुझाउन सकिने व्यवस्था गरिएको छ।

सिइओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। साथै, प्रचलित कानुनबमोजिम उम्मेदवार अयोग्य नभएको हुनुपर्नेछ।

आवेदनसँगै उम्मेदवारले तोकिएको शैक्षिक योग्यता तथा अनुभवसम्बन्धी कागजात पेस गर्नुपर्नेछ। त्यसैगरी, पर्यटन बोर्डको प्रभावकारिता अभिवृद्धि गर्ने सम्बन्धमा तीन हजार शब्द नबढ्ने रणनीतिक कार्ययोजना र आफ्नो अनुभव तथा उपलब्धि झल्किने एक हजार शब्द नबढ्ने प्रतिवेदनसमेत पेस गर्नुपर्नेछ।

आवेदन दस्तुरबापत १५ हजार रुपैयाँ बुझाउनुपर्नेछ। उक्त रकम नबिल बैंक लिमिटेड, तीनधारा शाखामा रहेको नेपाल पर्यटन बोर्डको खातामा जम्मा गरी बैंक भौचर आवेदनसँगै संलग्न गर्नुपर्ने बोर्डले जनाएको छ।

दरखास्त कार्यकारी प्रमुखको सचिवालयमा बुझाउनुपर्नेछ। इमेलमार्फत आवेदन दिन चाहने उम्मेदवारले आवश्यक कागजात [email protected] मा पठाउन सक्नेछन्। तर, इमेलमार्फत आवेदन दिने उम्मेदवारले अन्तर्वार्ताका क्रममा बैंक भौचर र सक्कल कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

सुझावित समाचार