एसिसी प्रिमियर कप : उपाधि भिडन्तमा नेपालको प्रतिद्वन्द्वी फेरि युएई

दीपेन्द्रसिंह ऐरीले ब्याटिङमा ५१ रन, बलिङमा तीन विकेट तथा फिल्डिङ क्रममा दुई क्याच लिएको प्रतिस्पर्धामा नेपालले ओमानविरुद्ध १४७ रन रक्षा गर्‍यो

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

नेपालले एसिसी प्रिमियर कपको उपाधि भिडन्तमा तेस्रोपटक युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । मलेसियामा चलिरहेको प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई वटै सेमिफाइनलमा नेपाल र युएई विजयी हुँदै उपाधिका लागि एक–आपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् । एसिसी प्रिमियर कपको शनिबार हुने फाइनलमा विजयी हुने राष्ट्रले आगामी एसिया कपमा छनोट हुनेछ । नेपाल र युएईले दोस्रोपटक एसिया कपमा स्थान बनाउने योजनामा छन् । 

युएई लगातार दोस्रोपटक एसिया कप खेल्ने लक्ष्यका साथ नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ । गत संस्करणको फाइनलमा नेपाललाई हराउँदै युएई पहिलोपटक एसिया कपमा स्थान बनाएको थियो । सन् २०२३ मूलपानी माथिल्लो मैदानमा भएको फाइनलमा युएईलाई हराउँदै नेपाल पहिलोपटक एसिया कप पुगेको थियो । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले एसिया कपमा टेस्ट राष्ट्रसँग खेल्न एसोसिएट राष्ट्रबाट एक टोली छनोट गर्ने प्रावधान बनाएको छ । 

यसपटक सुरुमा तीन राष्ट्र लैजाने घोषणा गरे पनि एसिसीले अन्तिम समयमा एक मात्रै राष्ट्र एसिया कपमा हुने निर्णय गर्यो । यसपटक एसिसी प्रिमियर कपमा १० टोली सहभागी थिए । नेपाल समूह ए मा रहँदा युएई समूह ‘बी’मा थिए । दुवै टोली आ–आफ्नो समूहका विजेता हुन् । सन् २०२७ को एसिया कप बंगलादेशमा हुँदै छ । जहाँ सर्वाधिक च्याम्पियन भारतसँगै श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगास्तिानले खेल्ने पक्का भएको छ । 

ओमानविरुद्ध दीपेन्द्रको अलराउन्ड प्रदर्शन
नेपाललाई लगातार तेस्रोपटक फाइनल स्थान सुरक्षित गराउनमा दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरेका थिए । उनले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका हुन् । बायुमास मैदानमा पहिलो ब्याटिङ गरेको नेपाल ४५.५ ओभरमा १४७ रनमा समिटएको थियो । ओमानले नेपालविरुद्ध घातक बलिङ गरी फाइनल पुग्ने आशा बलियो बनाएको थियो । 

प्रतिओभर तीन रनरेटमा ब्याटिङ गर्नुपर्ने लक्ष्य पाएको ओमानको पनि फितलो प्रदर्शन भयो । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल समक्ष १४७ रन रक्षा गर्नु चुनौती थियो । तर, स्पिनर दीपेन्द्रले बलिङमा ११ रन खर्चेर तीन विकेट लिए । उनले फिल्डिङ क्रममा महत्वपूर्ण दुई विकेट हात पारेपछि नेपाल फाइनलमा पुग्यो । दीपेन्द्रले ब्याटिङ क्रममा ५१ रनको अर्धशतकीय योगदान दिएका थिए । उनले यसक्रममा ७६ बलमा चार चौका प्रहार गरेका थिए ।

इनिङ्सको एक समय नेपाल ११.२ ओभरमा ३६–४ को कमजोर अवस्थामा थियो । दीपेन्द्र र बसिर अहमेदले पाँचौँ विकेटका लागि ९३ रनको साझेदारी गर्दै नेपाललाई ३५.५ ओभरमा १२९–५ को स्थितिमा राखे । बसिरले आफ्नो विकेट व्यक्तिगत ४७ रनमा खेलिरहँदा गुमाएका थिए । उनले ८८ बलमा तीन चौका र एक छक्का प्रहार गरे । बसिर आउट भएपछि नेपालले बाँकी पाँच विकेट केवल १८ रनमा गुमाएको थियो । नेपाल १२९–५ बाट १४७–१० मा समेटियो ।

ओमान ६० रनमा अलआउट 
१४८ रन लक्ष्य पछ्याएको ओमानको ब्याटिङ निकै कमजोर भयो । ओमानको पूरै टोली ओमान २८.१ ओभरमै केवल ६० रनमा अलआउट भएको थियो । नेपालका लागि कप्तान सन्दीपले पनि कसिलो बलिङ गरेका थिए । उनले ६ ओभरमा एक मेडन राखी नौ रन खर्चेर तीन विकेट लिए । यसैगरी, ललित राजवंशीले पाँच ओभरमा दुई मेडन राखी १२ रन खर्चेर दुई विकेट लिए । रोहित पौडेलले ४.१ ओभरमा सात रन दिएर दुई विकेट लिँदा एक मेडन ओभर गरेका थिए । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ तथा जितेन रमानन्दीले १३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । करण केसी र शेर मल्ल विकेटविहीन भए । 

शीर्ष ब्याट्सम्यान चुके 
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि शीर्ष ब्याट्सम्यान चुके दीपेन्द्र र बसिरबाहेक कुनै पनि ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन् । बसिर र दीपेन्द्रले १४७ बलमा उत्कृष्ट साझेदारी गरेका थिए । ओपनर देव खनाल १३ रन, आसिफ सेख ११ रन, ईशान पाण्डे एक रन, रोहित तीन रन बनाएर आउट भएका थिए । अलराउन्डर गुल्सन झा सात, करण केसी पाँच र सन्दीप तीन रनमा आउट भए । ओमानका बलर जयविक्रम र हस्नैन शाहले समान तीन विकेट लिएका थिए । 

 युएई सात विकेटले विजयी
युएईले पाँचपटक एसिया कप खेलेको हङकङलाई सात विकेटले हराउँदै उपाधिनजिक पुगेको हो । टस हारेर सुरुमा ब्याटिङ गरेको हङकङ ३०.१ ओभरमा अलआउट हुँदा मात्र ७० रन बनायो । युएईले ११.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । युएईका ओपनर तनिश सुरीले सर्वाधिक २७ रन, अदिव उस्मानीले १६ तथा अक्षदीप नाथले ११ रनको योगदान गरेका थिए । यसअघि हङकङका लागि ओपनर जिसान अलीले १७, काल्हन चालुले १३ तथा किन्चित शाहले ११ रन मात्रै बनाएका थिए । युएईका हैदर अलीले एक्ले ६ विकेट लिए ।

सुझावित समाचार