विशेष सूचनाका आधारमा दाङका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा ११ थान एकनाले भरुवा बन्दुक बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङमातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको टोलीले बिहीबार बिहान ६ बजेदेखि १० बजेसम्म खोजतलास गर्ने क्रममा ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको हो ।
जिल्ला दाङ घोराही उपमहानगरपालिका- १, सिरुखर्कस्थित राष्ट्रिय वनबाट ६ थान, बंगलाचुली गाउँपालिका- ८, कएना पानीस्थित सामुदायिक वनबाट दुई थान र लमही नगरपालिका- ७ स्थित नवशान्ति सामुदायिक वनबाट तीन थान एकनाले भरुवा बन्दुक बरामद गरिएको थियो ।
बरामद गरिएका सबै भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय दाङमा ल्याई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।