ब्याटिङ नचल्दा नेपालले दियो सामान्य लक्ष्य

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

नेपालले एसिसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा ओमानलाई १४८ रनको सामान्य लक्ष्य दिएको छ। मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा अलआउट हुँदा मात्र १४७ रन बनाउन सक्यो । 

दीपेन्द्रसिंह ऐरी र बसिर अहमदबाहेक कुनै पनि ब्याटरले उल्लेख्य योगदान गर्न सकेनन् । नेपालको शीर्ष क्रम चल्नै सकेन। मध्यक्रममा बसिर र दीपेन्द्रले १४७ बलमा ९३ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक अवस्थामा पुर्याएका हुन्। नेपालले ११.२ ओभरमा ३६ रन जोड्दा चार विकेट गुमाएको थियो । 

त्यसपछि  क्रिजमा आएका दीपेन्द्र र बसिरले लामो साझेदारी गरे। ३५.५ ओभरमा बसिर आउट हुँदा नेपालले १२९ रन जोडेको थियो। १३० रन बनाउँदा दीपेन्द्र पनि आउट भएपछि कुनै पनि ब्याटर क्रिजमा टिक्नै सकेनन् । दीपेन्द्रले ७६ बलमा चार चौकासहित सर्वाधिक ५१ रन बनाए । बासिरले ८८ बलमा तीन चौका र एक छक्कासहित ४७ रन बनाएर आउट भएका हुन्। 

यसअघि ओपनर देव खनाल १३, आसिफ शेख ११, ईशान पाण्डे एक, रोहितकुमार पौडेल तीन रन बनाएर आउट भएका थिए । त्यस्तै, अलराउन्डर गुल्सन झा सात, करण केसी पाँच, कप्तान सन्दीप लामिछाने तीन रन बनाएर आउट भएका थिए । शेर मल्ल डक आउट भए । 

ओमानका बलर जयविक्रम ओदेदारा र हस्नैन शाहले समान तीन विकेट लिएका थिए । मुहम्मद इमरामनले दुई तथा साकिल अहमद तथा मुजिबर अलीले समान एक विकेट लिएका हुन् । नेपाल समूह ‘ए’ को विजेता तथा ओमान समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । 

१० टिम सहभागी प्रतियोगिताको च्याम्पियन टिम अर्को वर्ष बंगलादेशमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् । नेपाल सन् २०२३ पछि दोस्रोपटक एसिया कप खेल्ने योजनामा छ ।

 

सुझावित समाचार