सिराहा प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट प्रतिबन्धित लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधबार राति लहान नगरपालिका– ३, ठाडी चोकमा लहानस्थित इलाका प्रहरी कार्यालय सिराहा र सशस्त्र प्रहरी बल सुरक्षा बेसबाट खटिएको संयुक्त प्रहरी टोलीले ठाडीबाट लहानतर्फ आउँदै गरेको स.१च १४१४ नम्बरको स्कारपियो गाडी रोकी चेकजाँच गर्दा एक सय एमएलको १२३ बोतल कोर्कफ सी प्रतिबन्धित औषधि बरामद भएको छ।
प्रतिबन्ध औषधि बरामद भएको स्कारपियोका चालक लहान– १० का वर्ष ४१ का विजयकुमार बिसुन्केलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
त्यस्तै, प्रहरीले बुधबार राति सिराहाको मिर्चैया नगरपालिका– १२, सिक्रोनबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित चारजनालाई पक्राउ गरेको छ। लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा मिर्चैया प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त टोलीले सिक्रोन नहरमा शंकास्पद अवस्थामा रहेका चारजनालाई प्रक्राउ गरिएको हो।
मिर्चैया– १२, सिक्रोन बस्ने वर्ष २४ का दीपक सहनीले लगाएको जिन्स पाइन्टको खल्तीमा लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ बट्टाबाहेक आठ ग्राम ५६० मिलिग्राम, चार थान मोबाइल र नगद दुई हजार पाँच सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दीपकसहित मिर्चैया– १२, सिक्रौन बस्ने वर्ष २० का सुनील कापर, वर्ष २५ का सरोज कापर र वर्ष २२ का पप्पु कापरलाई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।