भोटेकोशी बाढीपछि खोज, उद्धार तथा राहतको काममा सहयोग गर्न मैनाली समाज नेपालले प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा नौ लाख एक हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
मैनाली समाज नेपालको केन्द्रीय कार्यसमिति, विभिन्न जिल्ला कार्यसमितिहरू, समाजद्वारा प्रवर्द्धित शुभकालिका सहकारी संस्था तथा मैनाली परिवारहरूबाट संकलित उक्त रकम कोषको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको खातामा जम्मा गरी प्राप्त भौचर अर्थ मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा बुधबार अर्थमन्त्री माननीय स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष शम्भु मैनालीले बताए।
समाजले अकल्पनीय बाढीबाट भएको मानवीय क्षति, धन–सम्पत्ति तथा पशुधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपतबाट प्रभावित परिवारहरूले भोगिरहेको पीडा, आफ्ना आफन्तको अवस्थाबारेको अनिश्चितता तथा लामो प्रतीक्षाबाट उत्पन्न कष्टप्रति पनि समाजले गहिरो संवेदना व्यक्त गरेको छ ।
‘यस कठिन घडीमा विपत् प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका प्रयासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता मैनाली समाज नेपालले व्यक्त गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।