शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा विभागले बाढीबाट प्रभावित विद्यालयहरूमा विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै नियमित पठनपाठन सुरु गर्न निर्देशन दिएको छ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित विद्यालयका विद्यार्थीहरूमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भन्दै विभागले मनोसामाजिक परामर्शपछि मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो।
‘बाढी प्रभावित विद्यालयका विद्यार्थीहरूलाई नियमित कक्षा सञ्चालन गर्नुपूर्व सम्बन्धित विद्यालय तथा स्थानीय तहले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूसँग आवश्यक समन्वय गरी विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान तथा आवश्यकताअनुसार मनोसामाजिक परामर्श तथा सहयोग उपलब्ध गराई नियमित कक्षा सञ्चालनका लागि तयार भएको सुनिश्चित गरी मात्र पठनपाठन सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ।
विभागले सुरक्षित तथा बालमैत्री वातावरणमा विद्यालय सञ्चालन गर्न सम्बन्धित विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायलाई समन्वयका लागिसमेत आग्रह गरेको छ।