भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले मनकामना केबलकारका कर्मचारीले आर्थिक सहयोग गरेका छन् । कर्मचारीले आफ्नो दुई दिनको तलबबराबरको तीन लाख ११ हजार दुई सय २२ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
प्राकृतिक विपत्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीले आफ्नो तलबबाट उक्त रकम योगदान गरेका हुन् ।
मनकामना केबलकारले विपत्को समयमा प्रभावित नागरिकको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ । कर्मचारीको यस योगदानले बाढीपीडितको राहत तथा पुनर्स्थापना कार्यमा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ ।